समाज कल्याण परिषद् सम्बन्धी कानुनहरु परिमार्जन गरौंः मन्त्री आचार्य
-आस्था न्यूज
फागुन १५, २०८० काठमाडौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले समाज कल्याण परिषद् सम्बन्धी रहेका पुराना कानुनहरुलाई परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् ।
उनले सार्वजनिक लेखा समितिमा भएको बैठकमा नियमन र अनुगमन गर्ने काम समाज कल्याण परिषद्को भएको भन्दै यसका केही कानुनहरु परिमार्जन गर्न आवश्यक भएको बताए ।
यसको साथै उनले राज्यले परिषद्लाई कुनै बजेट प्रवाह नगरेको भन्दै जिरो बजेटको आधारमा आफ्नै स्रोत र साधनबाट संस्था सञ्चालन गर्नुपरेको बताए ।
उनले भने, ‘अब त्यसको नियमन र अनुगमन गर्ने काम मात्र समाज कल्याण परिषद्ले गर्ने हो । परिषद्लाई राज्यले बजेट प्रवाह गरेको छैन् । जिरो बजेटको आधारमा संस्थाले आफ्नै स्रोत र साधनबाट चलाइरहेको छ । त्यसकारण यसमा भएका केही पूराना कानुनहरुलाई परिमार्जन गर्नुपर्छ ।’
राज्य पुग्न नसकेको स्थानमा काम गर्नको लागि परिषद्को स्थापना भएको भन्दै अहिले मन्त्रालय र समाज कल्याणबीच तालमेल नभएको बताए ।
उनले भने, ‘मन्त्रालय र समाज कल्याणबीच तालमेल नभएको जस्तै कुराहरु कानुनले देखाउँछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था परिचालन परिषद्ले गर्दै आएको छ । राज्य पुग्न नसकेको स्थानमा परिषद् अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले पुगेर काम गरुन भन्ने उद्देश्यले यो समाज कल्याण परिषद्को स्थापना भएको हो ।’
मन्त्री आचार्यले आफ्नो र परिषद्का विषयमा केही प्रश्नहरु आएको, मन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा बढी परियोजनाहरु लग्यो भन्ने विषय पुष्टि भएमा त्यसको जिम्मेवारी आफूले लिने बताए ।