पीएसएलमा मुल्तान सुल्तानको पाँचौं जित, लाहोरको छैटौँ हार
-आस्था न्यूज
फागुन १६, २०८० काठमाडौं ।
पाकिस्तान सुपर लिग (पीएसएल)मा मुल्तान सुल्तानले उत्कृष्ट लय कायम राख्दै पाँचौं जित निकालेको छ । मंगलबार राति लाहोरमा भएको खेलमा लाहोर क्वालन्दर्सलाई ६० रनले पराजित गरेको हो । मुल्तानले खेलेका ६ मध्य पाँच खेलमा जित निकाल्दा लाहोर भने लगातार छैटौँ हार व्यहोर्न पुग्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको मुल्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो । सुरुआत खराब रहे पनि उस्मान खान र रेजा हेनरिकले पारी सम्हालेका थिए । यी दुईले ४६ बलमा ७० रनको साझेदारी गरे । हेनरिक २७ बलमा ४० रन बनाएर आउट हुँदा एक छक्का र छ चौका प्रहार गरे ।
यसैगरी उस्मान खान र तयब ताहिरले ४० बलमा ७७ रनको साझेदारी गर्दै विशाल योगफल तर्फ मुल्तानलाई अग्रसर गराए । टिमको स्कोर १५१ रन हुँदा तयब ताहिर १४ बलमा २१ रन बनाएर आउट भएका थिए । रेजा र इफ्तिकर अहमदले २८ बलमा ६० रनको उत्कृष्ट साझेदारी गरेपछि मुल्तान २०० प्लस भएको थियो । उस्मान ५५ बलमा ९६ रन बनाएर आउट भए ।
उनले दुई छक्का र ११ चौका प्रहार गरेका थिए । यसैगरी इफ्तिकर अहमदले १८ बलमा ४० रनको पारि खेल्दा तीन छक्का र दुई चौका हिर्काए । खुसदील साह भने ३ रनमा नटआउट रहे । लाहोरका सहेन साह अफ्रिदीले २ विकेट लिए ।
२१५ रनको लक्ष्य पछ्याएको लाहोरको सुरआत राम्रो भए पनि पछिल्लो क्रममा रन बन्न सकेन । ओपनर सहिवजादा फरहानले २१ बलमा सर्वाधिक ३१ रन बनाउँदा रसे भान डेर डुसेनले २२ बलमा ३० रनको योगदान गरे । यसैगरी फकर जमानले २३ तथा सिकन्दर रजाले १७ रन बनाउँदा कार्लोस व्रेथह्वाइटले १४ रनको नटआउट पारि खेले । लाहोर १७ ओभरमा १५४ रनमा समेटिएको थियो । मुल्तानका उस्मा मिर एक्लैले ६ विकेट लिँदा फैजल अक्रमले २ विकेट हात पारे ।
जितसँगै मुल्तान १० अंक बनाएर पीएसएलको शीर्ष स्थानमा छ भने लाहोरले खाता पनि खोल्न सकेको छैन । पीएसएल अन्तर्गत आज कराची किंग्स र इस्लामावाद युनाइटेडबीच प्रतिस्पर्धा हुने छ । यो खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुने छ ।