फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ रिलिज हुने

फाल्गुण १६,२०८०

-आस्था न्यूज

फागुन १६, २०८० काठमाडौं । 
आगामी चैत ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ रिलिज हुने भएको छ ।
 
षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ श्रृंखलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्टले विश्वभर प्रदर्शनको जिम्मा लिएको छ ।
 
इन्टरनेनमेन्टका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मध्यपूर्व अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्रालि, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा एमएसएम इन्टरटेनमेन्ट र रोटे पिङले फिल्म वितरण र प्रदर्शन गर्दैछ ।
 
इन्टरटेनमेन्टका सञ्चालक छत्र थापाले नेपाल झैँ विदेशमा दर्शकमाझ ‘महाजात्रा’ प्रतिक्षित रहनुमा ‘जात्रा’को अघिल्लो श्रृङ्खलाले बनाएको ब्राण्डको विश्वसनीयता र सफलता रहेको बताए ।‘विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको फिल्मको बजार बलियो देखिएको छ । त्यो मौलिक कथामा महाजात्रा पनि पर्छ’, उनले भने ।
 
‘महाजात्रा’का कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ श्रृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताए । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मले आपतकालिन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरेको बताए ।
 
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।