फिल्म अगत्स्यका प्रमोद भन्छन्- ‘त्रिपाठी’ चरित्र शक्तिशाली छ

फाल्गुण १६,२०८०

-आस्था न्यूज

फागुन १६, २०८० काठमाडौं । 
यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अगत्स्य च्याप्टर १’ मा अभिनेता प्रमोद अग्रहरि ‘त्रिपाठी’ नामक भिलेन चरित्रमा देखिँदैछन् । फिल्मको ट्रेलरमा राखिएको उनको संवाद ‘म आज स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, सँघार स्वयम्’ संवादलाई दर्शकले निकै मनपराइरहेका छन् ।
 
प्रमोद फिल्ममा आफ्नो चरित्र ‘बाहुबली’ जस्तै रहेको बताउँछन् । ‘सबै कुरा त्रिपाठीकै अन्डरमा छ । उसको आफ्नै सञ्जाल छ र उसको इसारा बिना समाजको केही कुरा पनि वरपर चल्दैन,’ प्रमोद भन्छन्, ‘त्रिपाठी चरित्र शक्तिशाली छ । मेरा अघिल्ला फिल्ममा भन्दा अगस्त्य च्याप्टर १ मा केही फरक पाउनुहुनेछ ।’
 
प्रमोद परासीका हुन् । उनले ‘अगत्स्य च्याप्टर १’ मा देखाइएको जस्तै कथा आफ्नो परासीमा देखेका छैनन् । ‘यस्तो कथा मैले अन्य ठाउँमा देखेको छु, भारतमा पनि देखेको छु । मैले त्यो देखेको क्यारेक्टरलाई मात्र फिल्ममा उतारेको हुँ । पहिरन, लुक्स उनीहरुबाटै लिएको हो’, उनी भन्छन् ।
 
प्रमोदका अनुसार आफ्नो चरित्र विकासका लागि उनले राम्रै तयारी गरेका रहेछन् । चरित्रलाई एउटा बच्चा जन्माउनुजस्तै रहेको ठान्ने प्रमोदले ‘त्रिपाठी’ चरित्रलाई जीवन्त बनाउन पहिरनदेखि बोल्ने कुरामा ध्यान दिएका रहेछन् ।
 
‘कुनै पनि चरित्रलाई शारीरिक रुपमा बलियो बनाउनु भन्दा पनि उसको विचार कस्तो छ, त्यो विचारको तयारी गर्नु ठूलो कुरा हो । चरित्र बाहिरबाट हेर्दा जति नै शक्तिशाली भए पनि उसको आन्तरिक कुरा के चलिरहेको छ भन्ने विषय मुख्य हो । आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने अर्को तयारी हो’, प्रमोद भन्छन्, ‘म पुषदेखि नै त्रिपाठीको क्यारेक्टरमै थिएँ । संवाददेखि सबै कुराहरुको तयारी गरिएको थियो ।’
 
फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि आफूलाई सामाजिक सञ्जालमा होस् या युट्युबमा दर्शकबाट आएका प्रतिक्रियाले आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्छ भन्नेमा उनी ढुक्क छन् ।
 
प्रमोदले ‘अगत्स्य च्याप्टर १’को स्क्रिप्ट चारपटकसम्म पढे । बीचमा उनको बुवाको निधन भएपछि उनी परासी आउनुपर्यो । ‘बुवाको काम सकेर फर्किएपछि पुनः स्क्रिप्ट पढिरहँदा आफ्नो चरित्रबाट के आउनेवाला छ भन्ने मलाई थाहा थियो, त्यही अनुसार तयारी गरें’, उनले भने ।
 
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्ममा प्रमोदका अलावा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
 
फिल्ममा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता छन् ।