संकटमा वैद्यखाना: औषधि उत्पादन र व्यापार दुवै घट्यो

फाल्गुण १७,२०८०

-आस्था न्यूज

फागुन १७, २०८० काठमाडौं । 
  • प्रमिला कार्की, 
देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना उत्पादन र व्यापार दुवै घटेपछि संकटमा परेको छ । वि.सं. २०५२ देखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर करिब १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको थियो । तर अहिले औषधि उत्पादन र व्यापार दुवै घटेको छ । 
 
एलोपेथिक उपचार प्रणालीको प्रभाव बढेको र आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको घट्दो विश्वासका कारण वैद्यखानाको व्यवस्थापनमा सरकारले पनि चासो दिएको छैन । बरू राजनीतिक हस्तक्षेपका कारण वैद्यखाना थप संकटउन्मुख भएको छ । 
 
वैद्यखानामा पछिल्ला पाँच वर्षमा ११ जना कार्यकारी निर्देशन फेरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो अनुकूल कार्यकारी निर्देशक फेरबदल गर्ने गर्दा वैद्यखाना नै संकटतर्फ धकेलिएको वैद्यखानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले बताए । 
 
‘मन्त्रालयबाट कार्यकारी निर्देशकहरु परिवर्तन भइराख्ने भयो । जसले गर्दा वैद्यखानाले स्थायित्व पाउन सकेन,’ उनले नेपाल न्यूज बैंकसँग भने, ‘त्यसको प्रत्यक्ष असर यसको उत्पादन र व्यापारमा परेको छ । पछिल्लो समयमा आयुर्वेद औषधि उत्पादन र व्यापार दुवै घटेको छ ।’
 
उनका अनुसार वैद्यखानाले आर्थिक वर्ष २०७४/०७५ मा ५ करोड ३४ लाख रुपैयाँको औषधि बिक्री गरेको थियो । तर पाँच वर्षपछि आर्थिक वर्ष २०७९/०८० मा १ करोड २७ लाख रुपैयाँको व्यापार गरेको छ । यसरी हेर्दा पाँच वर्षमा वैद्यखानाको व्यापार करिब तेब्बरले घटेको छ । 
 
वैद्यखानाले आर्थिक वर्ष २०७६/०७७ मा २ करोड १७ लाख, २०७७/०७८ मा २ करोड ६८ लाख, ०७८÷०७९ मा १ करोड ८५ लाख रुपैयाँको व्यापार गरेको थियो । 
 
वैद्यखानाको व्यापार घटेपछि औषधि उत्पादन पनि घटेको छ भने अहिले त कर्मचारीहरुले तलब खान समेत धौधौ पर्ने अवस्था बनेको छ । 
 
वरिष्ठ मार्केटिङ अधिकृत रेग्मीले भने, ‘सरकारले सहयोग गर्न छोड्यो । यहाँ कार्यकारी निर्देशक नियुक्त भएर काम गर्ने योजना बनाउन नपाउँदै फेरबदल भइहाल्छ । जसले गर्दा यो उद्योग नै संकटमा पुगेको छ ।’
 
उनका अनुसार पहिले वैद्यखानाले एक सय भन्दा बढी प्रकारका औषधिहरु उत्पादन गर्ने गरेको थियो । तर अहिले भने कर्मचारीहरुलाई पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेको छ । 
 
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसार औषधि उत्पादन गर्न ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मा जानुपर्छ । तर चार शताब्दीको लामो इतिहास बोकेको यो वैद्यखानामा औषधि उत्पादन गर्ने उपकरणहरु भने पुराना प्रयोग हुने गरेका छन् । 
 
औषधि उत्पादन गर्न आवश्यक बजेटकै अभाव रहेको उनले बताए । 
 
‘सरकारले बजेट दिदैन, यहाँ उत्पादन घटेको छ, व्यापार पनि घटेको छ,’ उनले भने, ‘यहाँ सरकारकातर्फबाट तीन जनामात्रै कर्मचारी हुनुुहुन्छ । बाँकी समितिका तर्फबाट ४१ जना छौँ । अहिले त तलब खाने पैसाको समेत अभाव हुने स्थिति बनेको छ ।’
 
उनका अनुसार केही महिनादेखि वैद्यखानाले फिक्स डिपोजिटको पैसा झिकेर तलब खुवाइरहेको छ । 
 
औषधि बनाउने उपकरणहरु पुराना भएका छन् भने कच्चा पदार्थ खरिद गर्न बजेटको समस्या छ । दुवैको व्यवस्थापन गर्न समिति आफैँले मात्रै सक्ने अवस्था छैन । 
 
वैद्यखानालाई सरकारले आवश्यक बजेट सहयोग गरेमा पुरानै अवस्थामा फर्काउन सकिने उनको भनाइ छ । ‘सरकारले उपकरण खरिद र व्यवस्थापनमा सहयोग गरिदिने हो भने हामीले पाँच वर्षमा फेरि पहिलेकै अवस्थामा फर्काउन सक्छौँ,’ उनले भने ।