आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट बढाउँने प्रधानमन्त्रीको प्रतिवद्धता

फाल्गुण १८,२०८०

-आस्था न्यूज

फागुन १८, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। शुक्रबार चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै उनले स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार क्रियाशील रहेको दाबी गरे।
 
उनले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिरहेको बताउँदै देशभरका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब,विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरुमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिरहेको पनि बताए।
 
स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरुका लागि अनुदानको व्यवस्था, लगायत महत्वपूर्ण निर्णय भई कार्यान्वयनमा आएको उल्ले गर्दै प्रधानमन्त्रीले संविधान अनुरुप निर्माण गरिनुपर्ने ऐनहरुको तर्जुमाका निमित्त नेपाल सरकारले गम्भीर पहल लिइरहेको पनि बताए। सरकारका प्रयासले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने विश्वास लिएको उनको भनाइ थियो।