वैद्यखानाको बेहाल फलोअप :

स्वास्थ्य मन्त्रालय भन्छ-‘नयाँ गठन आदेश बनाएर व्यवस्थित गर्दैछौँ’

फाल्गुण १८,२०८०

-आस्था न्यूज

फागुन १८, २०८० काठमाडौं ।
कुनै बेला देशमा उत्पादित आयुर्वेद औषधिको ८० प्रतिशत हिस्सा ओगटेको सिंहदरबार वैद्यखानाको व्यापार यतिबेला ठप्प जस्तै छ । सरकारी स्वामित्वमा रहेको एक मात्र आयुर्वेदिक औषधि उद्योग वैद्यखानालाई सरकारले नै बेवास्ता गर्न थालेपछि उत्पादन र व्यापार दुवै संकटमा परेको छ । 
 
जडीबुटीको क्षेत्रमा प्रचुर सम्भावना बोकेको नेपालमा देशकै सबैभन्दा पुरानो औषधि उत्पादन गर्ने वैद्यखाना बन्द हुने अवस्थामा पुग्न लाग्दा पनि सरकारको ध्यान गएको छैन । वैद्यखानामा राजनीतिक हस्तक्षेप र पटक–पटक नेतृत्व फेरबदल गरेको आरोप झेलेको स्वास्थ्य मन्त्रालयले भने वैद्यखानालाई पुनः स्थापित गर्न नयाँ गठन आदेश बनाएर व्यवस्थित गर्न लागेको जनाएको छ । 
 
मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले वैद्यखानामा नेतृत्व स्थायित्वको विषयमा मन्त्रालय संवेदनशील रहेको बताए । उनका अनुसार मन्त्रालयले वैद्यखानामा कार्यकारी निर्देशन नियुक्ति सम्बन्धी अलग्गै गठन आदेश बनाएर व्यवस्थित गर्ने तयारी छ । 
 
‘नेतृत्वको कुरा गर्दा जो त्यहाँ जानुहुन्छ, ऊ नै म त्यहाँ राम्रोसँग काम गर्छु, देखाउँछु भनेर लाग्न पर्छ,’ उनले भने, ‘अहिलेको गठन आदेशअनुसार फेरि पनि विगतकै अवस्था आउने भएकाले हामी नयाँ गठन आदेश बनाएर निश्चित अवधिका लागि कार्यकारी निर्देशन फेरबदल गर्न नमिल्ने व्यवस्था गरेर अघि बढ्दैछौँ ।’
 
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसार औषधि उत्पादन गर्न ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मा जानुपर्छ । तर चार शताब्दीको लामो इतिहास बोकेको यो वैद्यखानामा औषधि उत्पादन गर्ने उपकरणहरु नै थोत्रा छन् । 
 
वैद्यखानाका कर्मचारीहरुले मन्त्रालबाट प्रर्याप्त बजेट नआउँदा मापदण्ड विपरित गएर पुरानै उपकरणको प्रयोगबाट औषधी उत्पादन गर्न परेको गुनासो गरेका छन् । तर मन्त्रालयले भने यस विषयलाई अस्वीकार गरेको छ । 
 
यति लामो समयावधिमा कुन–कुन सामान प्रयोगमा आए र कुन–कुन उपकरणहरु परिवर्तन गर्नुपर्ने हो भन्ने सूचना वैद्यखानाले मन्त्रालयलाई नदिएको प्रवक्ता बुढाथोकी बताउँछन्। उनले भने, ‘यति लामो समयका बीचमा कुन कुन सामान प्रयोगमा आए कुन आएनन् ? कुन काम नै नलाग्ने भए वा कुन फेर्नुपर्ने अवस्था छन् । त्यसको विस्तृत जानकारीसहितको पत्र मन्त्रालयमा उपलब्ध भएको छैन ।’
 
उनले वैद्यखानाले योजनासहित मन्त्रालयमा पेश नै नगरेकाले समस्या भएको बताए । ‘वैद्यखाना आधारभूत औषधि उत्पादन गर्ने उद्योग हो । यदि वैद्यखानाले आफ्नो आवश्यकताका कुराहरू प्रष्टसँग अगाडि ल्याउने हो भने मन्त्रालयले अन्य आयोजनालाई थाती राखेर भएपनि बजेट दिनुपर्ने हुन्छ,’ उनले भने । 
 
उनले नेपाललाई अयुर्वेदिक औषधिमा आत्मानिर्भर बनाउन र विदेशमा पनि निर्यात गर्न सक्ने हिसाबमा वैद्यखानालाई सञ्चालन गर्ने मन्त्रालयको सोच रहेको बताए । 
 
तत्कालिन राजा प्रताप मल्लको पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको रुपमा यसको स्थापना भएको थियो । पछि वि. स. २०५२ सालबाट सिंहदरबार वैद्यखाना विकास समितिको रुपमा सञ्चालित छ ।
 
वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर करिब १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको थियो । तर अहिले औषधि उत्पादन र व्यापार दुवै शून्य जस्तै भएको छ ।