ढाकाको एक भवनमा आगलागी हुँदा ४४ जनाको मृत्यु

फाल्गुण १८,२०८०

-आस्था न्यूज

फागुन १८, २०८० काठमाडौं ।
बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाले ज्यान गुमाएका छन् । २२ जना गम्भीर घाइते भएका छन् । राजधानी ढाकामा रहेको एउटा रेष्टुरेन्टमा भएको आगलागीमा ७५ जनाको भने सकुशल उद्धार भएको बीबीसीले जनाएको छ ।
 
एउटा रेष्टुरेन्टबाट सल्केको आगो त्यही तल्लामा रहेका अरु रेष्टुरेन्ट, कपडा पसल र मोबाइल पसलमासमेत पुगेको थियो । ग्यास लिक भएका कारण आगलागी भएको हुनसक्ने त्यहाँका अधिकारीहरुले अनुमान गरेको खबरमा उल्लेख छ ।
 
भर्‍याङ्सहित सबै तल्लामा असुरक्षित तरिकाले ग्यास सिलिन्डर राखेकाले क्षति धेरै भएको उनीहरुले बताएका छन् । सुरक्षा नियमलाई कडाइका साथ पालना नगरी लापरबाही गरेका कारण बंगलादेशमा अपार्टमेन्ट भवन र कारखाना परिसरहरूमा आगलागीका घटना भइरहन्छन् ।
 
यसअघि सन् २०२१ को जुलाइमा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा बालबालिकासहित ५० जना भन्दा बढीको ज्यान गएको थियो । एजेन्सी