अक्षय कुमारलाई लोकसभा उम्मेदवार बनाउन बीजेपीको जोड

फाल्गुण १८,२०८०

-आस्था न्यूज

फागुन १८, २०८० मुम्बई (एबीपीलाइभ) ।
बलिउडका ‘मिस्टर खिलाडी’ अर्थात् अभिनेता अक्षय कुमार राजनीतिमा प्रवेश गर्ने भएका छन् । आगामी लोकसभा चुनावमा उनी भारतीय जनता पार्टी(बीजेपी)बाट उम्मेदवार हुने तयारी चलिरहेको उनका निकटले दाबी गरेका छन् ।
 
भारतमा यतिबेला लोकसभा चुनावको सरगर्मी बढिरहेको छ । हरेक पार्टीले आगामी चुनावलाई लिएर रणनीति बनाउन सुरु गरिसकेका छन् । 
 
राजधानी नयाँदिल्लीमा आम आदमी पार्टी र कंग्रेसले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेका छन् । जहाँ आम आदमी पार्टी दिल्लीमा ४ सिट र कंग्रेस ३ सिटका लागि चुनावी मैदानमा उत्रनेछन् । 
 
बीजेपी पनि दिल्लीमा नयाँ अनुहारलाई लिएर चुनावको उम्मेदवार बनाउने रणनीतिमा छ । यस्तो अवस्थामा अक्षय कुमार बीजेपीको टिकट लिएर चुनावी मैदानमा उत्रन सक्ने आकलन बलिउडमा छ ।
 
समाचारअनुसार अक्षय नयाँदिल्लीका चाँदनी चोक सिटबाट बीजेपीको तर्फबाट चुनाव लड्ने ध्याउन्नमा छन् । यसका लागि पार्टीका केही नेताले अभिनेतासँग सम्पर्क पनि गरेका छन् । उनीहरुले अहिले चुनावका लागि अक्षयलाई फकाउने रणनीति लिएका छन् । ती नेताले भेटे पनि अक्षयले आधिकारिक रुपमा केही कुरा बाहिर ल्याएका छैनन् ।
 
भाजपा नेता र पूर्व केन्द्रीय मन्त्री डा. हर्षवर्धनले सन् २०१४ र २०१९ मा दुई पटक त्यहाँबाट चुनाव जितेका थिए । उक्त सिटमा सन् २००४ र २००९ मा पूर्व कंग्रेस नेता र केन्द्रीय मन्त्री कपिल सिब्बलले विजय हासिल गरेका थिए ।
 
अक्षयको भारतीय जनता पार्टीसँग राम्रो सम्बन्ध छ । अहिले उनको करिअर ग्राफ निकै तल झरेको छ । उनका पछिल्ला कयौं फिल्मले बक्सअफिसमा दमदार व्यापार गर्न सकेका छैनन् ।
 
अक्षय यतिबेला नयाँ फिल्म ‘बडे मियाँ छोटो मियाँ’मा व्यस्त छन् । यो फिल्ममा उनले अर्का अभिनेता टाइगर श्राफसँग सहकार्य गर्दैछन् । फिल्म आगामी अप्रिल ९ मा रिलिज हुँदैछ ।