क्यासिनो प्यालेसका ३ जनालाई थुनामा पठाउन आदेश
-आस्था न्यूज
फागुन १८, २०८० काठमाडौं ।
दरबारमार्गमा संचालित क्यासिनो प्यालेसका निर्देशक ऋषभ पावासहित ३ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश विनोद खतिवडाले निर्देशक पावा, मार्केटिङ निर्देशक गुलाब सिंह र केज मेनेजर गौरब चोपडालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेका हुन् । उनीहरु तिनैजना भारतीय नागरिक हुन् ।
उनीहरुलाई प्रहरीले माघ १८ मा अन्नपूर्ण होटल परिसरमा सञ्चालित क्यासिनोको अण्डरग्राउण्डबाट पक्राउ गरेको थियो । एटलान्टिक रिक्रियसन प्रालिको नाममा सञ्चालित ‘क्यासिनो प्यालेस’को भूमिगत तलामा उनीहरुले ‘अनलाइन जुवा’ सञ्चालन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
उनीहरुविरुद्ध प्रहरीले राष्ट्रबैंक ऐन-२०५८ र अनलाइन जुवा खेलाएको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझएको थियो । क्यासिनो प्यालेसको अण्डर ग्राउण्ड र ललितपुरस्थित ऋषभ बस्दै आएको हाउजिङबाट प्रहरीले ठुलो परिमाणमा अमेरिकी डलरसहित १३ देशको मुद्रा बरामद गरेको छ । १ करोड ८ लाख ९ हजार ४४५ रुपैयाँ विदेशी मुद्रा र नेपाली नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । बरामद रकममध्ये ५६ हजार ३२२ अमेरिकी डलर छ ।
क्यासिनो प्यालेसका मुख्य सञ्चालक हुन्, जनकपुर घर भएका बिनय शाह । बौद्धस्थित ह्यात रिजेन्सीको क्यासिनो ‘प्राइड इन्टरटेनमेन्ट प्रा।लि’ पनि उनल नै सञ्चालन गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँले शाह, भारतीय नागरिक तरुण खट्टर, एटलान्टिक रिक्रियसन प्रा।लि।का अध्यक्ष अशोककुमार क्षेत्रपाल, क्यासिनो सञ्चालक मध्येका बलदेवराज अरोरा, मुकेश गुलाटी, श्रीनिवास पन्दुरांग नायकलाई फरार प्रतिवादी बनाएको छ । विनयभन्दा बाहेक अरु भारतीय नागरिक हुन् ।