गाजामा ६ हप्ताका लागि युद्धविराम !

फाल्गुण २०,२०८०

-आस्था न्यूज

फागुन २०, २०८० काठमाडौं । 
इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायल गाजामा युद्धविराम गर्न र बन्धक रिहाईको सम्झौता गर्न सहमत भएको बताइए पनि यसलाई औपचारिकता दिने कि नदिने भन्ने हमासको हातमा रहेको छ ।
 
अमेरिकी एक वरिष्ठ अधिकारीका अनुसार शनिबार भएको छलफलपछि इजरायल युद्धविराम गर्न तयार भएको हो । प्रस्तावका अनुसार गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलाहरूलाई पनि रिहा गर्नु पर्ने छ । यस विषयमा हमासबाट भने कुनै प्रतिक्रिया आएको छैन । 
 
गाजामा इजरायल र हमासबीच झण्डै पाँच महिनादेखि द्वन्द्व चलिरहेको छ । अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि सुरु भएको युद्धमा तीस हजारभन्दा बढी मानिसको ज्यान गएको छ । 
इजरायली सेनाले शनिबार रफाह सहरको एक अस्पताल नजिकैको शरणार्थी शिविरमा बमबारी गर्दा ११ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले देर अल–बालाह र जबलियामा तीनवटा घरहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको जनाएको छ । आक्रमणमा १७ प्यालेस्टाइनी मारिएका छन् भने दर्जनौँ घाइते भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।