Trending :
 

पाकिस्तानः नवाज सरिफका भाई बने दोस्रो पटक प्रधानमन्त्री

फाल्गुण २०,२०८०

-आस्था न्यूज

फागुन २०, २०८० काठमाडौं ।
पाकिस्तानमा शाहबाज सरिफ देशको २४ औं प्रधानमन्त्री बनेका छन् । उनले राष्ट्रिय सभामा २०१ सांसदको समर्थन पाएका छन् । ९२ सांसदले पीटीआई समर्थक उम्मेदवार उमर अयुबलाई भोट दिएका छन् । राष्ट्रिय सभाका सभामुख अयाज सादिकले निर्वाचनको नतिजा घोषणा गरेका हुन् ।
 
प्रधानमन्त्री निर्वाचित भएपछि शाहबाज सरिफले नवाज र उनका सबै सहकर्मीलाई आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिएका छन् । तर, १ घण्टा २४ मिनेटको भाषणको सुरुमै शाहबाजको जिब्रो चिप्लियो । उनले आफूलाई प्रधानमन्त्रीको सट्टा विपक्षी दलको नेता भन्न पुगेका थिए ।
 
सम्बोधनका क्रममा शाहबाजले भने– ‘इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ । कश्मीरमा मानिस मारिने क्रम जारी छ । प्यालेस्टाइन र कश्मीरीमाथि दमन भइरहेको छ तर अन्तर्राष्ट्रिय समुदाय मौन छ । हामी सबै मिलेर कश्मीर र प्यालेस्टाइनको स्वतन्त्रताको लागि संसदमा प्रस्ताव पारित गर्नुपर्छ ।’
 
शाहबाजले भने– नवाजले देश बनाए
 
यसअघि शाहबाजले भनेका थिए, ‘मेरो दाई तीन पटक प्रधानमन्त्री निर्वाचित हुँदा देशमा भएको विकास आफैंमा उदाहरण हो । नवाज शरीफले पाकिस्तान बनाएका हुन् भन्नु गलत होइन ।
 
अर्कोतर्फ, जुल्फिकार अली भुट्टोको बलिदानलाई देशले कहिल्यै भुल्न सक्दैन । शाहबाज शरीफले देशमा आतंकवाद र यसको जरा उन्मूलन गर्ने वाचा गरे । उनले भने– पीएमएल–एन र सहयोगी दलहरूले पाकिस्तानी, मुस्लिम र मानवको रूपमा आफ्नो भूमिका खेल्नेछन् । यस संसदमा पाकिस्तानको राजनीतिक डुङ्गा चलाउन सक्ने प्रतिभाशाली व्यक्तिहरू छन् । यसमा पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ र धार्मिक नेताहरू पनि पर्छन् ।
 
शाहबाजले इमरान खान नेतृत्वको सरकारको आलोचना गर्दै इमरानले सम्पूर्ण विपक्षीलाई जेलमा हालेको टिप्पणी गरे ।
 
शाहबाजले भने– मेरो जेठो दाई नवाजले देशलाई हानि गर्ने बारे कहिल्यै सोचेका छैनन् । पुरानो शासन (इमरान खानको शासन) लाई उद्धृत गर्दै उनले भने– उनीहरूले सम्पूर्ण विपक्षीहरूलाई जेलमा राखे, उनीहरूले महिला र बालबालिकाको वास्ता गरेनन् ।
 
शाहबाजको कार्यकाल 
शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज सरिफ देशको प्रधानमन्त्री बनेका थिए । आइतबार संसदको सत्र सुरु हुने बित्तिकै पीटीआई समर्थक सांसदहरूले इमरान खानको पक्षमा ‘आजादी’ र ‘कैदी नम्बर ८०४’ को नारा लगाएका थिए । जवाफमा पीएमएल–एनका सांसदहरूले ‘नवाज जिंदाबाद’ को नारा लगाएका थिए ।
 
८ फेब्रुअरीमा भएको निर्वाचनपछि नवाज सरिफको पीएमएल–एन र बिलावल भुट्टोको पीपीपी पार्टीले बहुमत हासिल गर्न गठबन्धन बनाएका थिए । यो गठबन्धनले नवाजका भाइ तथा पूर्व प्रधानमन्त्री शाहबाज सरिफलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो ।