Trending :
 

७६ वर्षपछि आयो राष्ट्रिय बिमा नीति

फाल्गुण २१,२०८०

-आस्था न्यूज

फागुन २१, २०८० काठमाडौं ।
बिमा सेवा सुरु भएको साढे सात दशकपछि सरकारले राष्ट्रिय बिमा नीति ल्याएको छ । गत २४ मंसिरको मन्त्रिपरिषद्ले ‘राष्ट्रिय बिमा नीति, २०८०’ स्वीकृत गरेपछि नियामक निकाय नेपाल बिमा प्राधिकरणले यही सातादेखि यो नीति कार्यान्वयनमा ल्याएको हो ।
 
गत मंसिरमै मन्त्रिपरिषद्बाट नीति स्वीकृत भए पनि प्राविधिक कारणले कार्यान्वयनमा आउन ढिलाइ भएको प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले बताए । उनका अनुसार अब बिमा नीति कार्यान्वयनमा प्रवेश गरेको छ । ‘बिमा नीति कार्यान्वयनमा प्रवेश गरेको छ । अब यसमै आधारित रहेर प्राधिकरणले बिमासम्बन्धी रणनीति बनाउँछ,’ उनले भने, ‘यो नीतिले बिमा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्छ ।’   
 
गत आव ०७९/८० को बजेटमा बिमा नीति ल्याउने घोषणा गरेसँगै प्राधिकरणले बनाएको मस्यौदालाई अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गरिएको थियो । नेपाल बैंकको लगानीमा २००४ मा नेपाल माल चलानी तथा बिमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) स्थापना भएको थियो । त्यसपछि ०२४ मा राष्ट्रिय बिमा संस्थान (हालको राष्ट्रिय जीवन बिमा कम्पनी)  र ०२५ मा नियामक निकाय बिमा समिति (हालको नेपाल बिमा प्राधिकरण) स्थापना भएको थियो । 
 
बिमामा क्षेत्रमा भएको लगानीयोग्य पुँजीलाई राष्ट्रिय पूर्वाधार विकास र उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति ल्याइएको छ । यसैगरी, बिमा सेवालाई उत्पादनमूलक क्षेत्रमा विस्तार गरिने नीति पनि सरकारको छ । सरकारले बिमालाई आधुनिक र प्रतिस्पर्धी बनाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने नीति ल्याएको छ । बिमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको लेखा प्रणाली अवलम्बन गर्ने योजनासमेत सरकारले बनाएको छ । आजका नयाँ पत्रिकामा खबर छ ।