Trending :
 

कानुन समितिको बैठक बस्दै, टीआरसी विधेयक टुंग्याउने विषयमा छलफल हुने

फाल्गुण २१,२०८०

-आस्था न्यूज

फागुन २१, २०८० काठमाडौं ।
बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न कानुन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ७ः४५ बजे सिंहदरबारमा बोलाइएको छ ।
 
आजको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको मस्यौदा प्रतिवेदन पास गर्ने तयारी छ । विधेयकको मस्यौदा प्रतिवेदनका अधिकांश विषयमा दलहरुबीच सहमति भइसकेको छ ।
 
विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनलाई आइतबार नै कानुन समितिको बैठकबाट पास गर्ने तयारी थियो । तर कानुन मन्त्री धनराज गुरुङले दलहरुबीच केही विषयमा सहमति जुटाउनका लागि समय मागेपछि बैठक स्थगित गरिएको थियो ।
 
यस विषयमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले, रास्वपासहितको नेतृत्व र प्रधानसेनापति प्रभुराम शर्मासँग आइतबार छुट्टाछुट्टै छलफल समेत गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विगतका अडानमा लचिलो भएपछि विधेयकका मस्यौदा प्रतिवेदनमा सहमति जुटेको हो ।