Trending :
 

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छुः प्रधानमन्त्री दाहाल

फाल्गुण २१,२०८०

-आस्था न्यूज

फागुन २१, २०८० काठमाडौं । 
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने स्पस्ट पारेका छन् ।  
 
सोमबार सुखानी सहिदका परिवारसँग भेट गरेका उनले आफूले कम्युनिष्ट एकताको लागि थप पहल आजैबाट सुरु गरेको बताए । 
 
माओवादीले कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ । आज सप्ताहको अन्तिम दिन दाहालले जनयुद्धमा मारिएका सहिद परिवारका सदस्यहरुसँग भेट गरेका थिए । 
 
तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । 
 
सहिद परिवारका सदस्यहरु विशेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायतसँगको भेटमा प्रधानमन्त्री दाहालले सहिदप्रति उच्च सम्मान छ रहेको उल्लेख गर्दै भने, ‘आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ,’ दाहाल सचिवालयले जनाएको छ । 
 
फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको ५१ वर्ष पूरा भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ ।