Trending :
 

कांग्रेसले चार मुख्यमन्त्री र ३८ मन्त्री गुमाउँदै

फाल्गुण २१,२०८०

-आस्था न्यूज

फागुन २१, २०८० काठमाडौं । 
आइतबारसम्म सत्ता गठबन्धनलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। संक्रणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउने विषयमा प्रधानमन्त्रीले देउवासँग छलफल गरेका थिए।
 
देउवासँगको भेट लगत्तै प्रधानमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे। उक्त भेटपछि सत्ता गठबन्धनको सहयात्रा परिर्वतन भयो। प्रधानमन्त्री प्रचण्डले आगामी यात्राको सहयात्रीको रुपमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोजे।
 
बालुवाटारमा एमालेसँग सत्ता साझेदारी गर्ने सहमति प्रधानमन्त्रीले गरेसँगै सोमबार नै नयाँ मन्त्रिपरिषद् केन्द्रमा गठन हुने देखिएको छ। संघीय सरकारमा सुरुमा सानो आकारमा नयाँ मन्त्रिमण्डल बनाउने प्रधानमन्त्रीको तयारी छ। त्यसमा केही मन्त्रालय समेत प्रधानमन्त्रीले तय गरेर सहमति गरेको सार्वजनिक भएको छ। 
 
सत्ता गठबन्धनको काँध फेरिएसँगै नेपाली कांग्रेस फेरि एक पटक प्रतिपक्षमा पुगेको छ। नेपाली कांग्रेसले केन्द्रदेखि सातै प्रदेशमा सरकार गुमाउने भएको छ। योसँगै नेपाली कांग्रेसले चार मुख्यमन्त्री र ३८ मन्त्री गुमाउने भएको छ। 
 
नेपाली कांग्रेसले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री गठबन्धनबाट पाएको थियो। अब गठबन्धन परिवर्तन हुँदा कांग्रेस सातै प्रदेशमा प्रतिपक्षमा पुग्ने भएको छ।
 
नेपाली कांग्रेसका तर्फबाट कोशीमा केदार कार्की, लुम्बिनीमा  डिल्लीबहादुर चौधरी, गण्डकीमा सुरेन्द्र पाण्डे र सुदूरपश्चिममा कमलबहादुर शाह मुख्यमन्त्री भएका थिए। सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण निर्माण गरेर जाने निर्णय गरिसकेको छ। 
 
केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गत चैत १७ मा सहभागी भएको कांग्रेसले ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको थियो। कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाशशरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहन बहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ शहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिए। सात प्रदेशमध्ये चारमा नेतृत्व र तीन प्रदेश सरकारमा कांग्रेसको सहभागिता छ। 
 
कांग्रेसबाट केन्द्रमा ९ र प्रदेशमा मुख्यमन्त्री सहित २९ जना मन्त्री छन्। केन्द्रमा बनेको नयाँ सत्ता समीकरण हेर्दा सातै प्रदेशमा कांग्रेसको सरकार बन्ने अवस्था छैन।