फिल्म ‘रङ्गेली’ का प्रवीण-चौथो काल, मानबहादुर ढकाल

फाल्गुण २२,२०८०

-आस्था न्यूज

फागुन २२, २०८० काठमाडौं ।
अभिनेता प्रवीण खतिवडा यही शुक्रवार रिलिज हुने फिल्म ‘रङ्गेली’ मा मानबहादुर ढकाल नामको प्रहरी अफिसरको भूमिकामा देखिँदैछन् । फिल्मको ट्रेलरमा उनले बोलेको ‘चौथो काल, मानबहादुर ढकाल’ संवादलाई दर्शकले निकै मनपराइरहेका छन् ।
 
प्रवीणका अनुसार फिल्ममा उनी अनुशासनमा नबस्ने प्रहरी अफिसर हुन् । ‘म रङ्गेलीको माहौलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा छु । मेरो चरित्रले घुस खानेदेखि लिएर आफूलाई फिल्मी शैलीमा प्रस्तुत गरिरहेको हुन्छ । रङ्गेलीमा तडकभडक भइरहेको समयमा त्यसलाई नियन्त्रण गर्न म सक्रिय हुन्छु’, उनी भन्छन् ।
 
फिल्ममा तडकभडकको माहोललाई आफ्नो हातमा लिन अथवा त्यसलाई समाधान गर्न उनले राम्रै चलखेल गर्दा रहेछन् । ‘पात्रलाई घुमाउने, कसलाई ठोक्ने, कसलाई जोगाउने भन्ने निर्णय मेरो हातमा हुन्छ’, उनी भन्छन् ।
 
प्रवीणले प्रहरी अफिसरको चरित्र निभाइरहँदा त्यो चरित्र निभाउनु अघि त्यसमा देखिएका राजनीतिक रुपमा गलत कुराहरूलाई कसरी ‘डिल’ गर्ने भनेर अन्य कलाकार र निर्देशकसँग छलफल पनि गरेका रहेछन् ।
 
वास्तविक जीवनमा प्रवीण प्रहरीको चरित्र राम्रो हुनुपर्छ भन्ने पक्षधर हुन् । ‘म सधैं प्रहरीले इमान्दार भएर कानूनको रक्षा गर्नुपर्छ र यदि कोही रक्षक पनि भक्षक बन्दैछन् भने त्यसलाई कानूनी दायराभित्र ल्याउनुपर्छ भन्ने मान्यता राख्छु । तर चरित्र निभाइरहँदा यी कुरा सम्भव हुँदैन रहेछ’, प्रवीण भन्छन् ।
 
उनले प्रहरी चरित्र निभाइरहँदा प्रहरीलाई राजनीतिभन्दा अलग राखेर ‘ट्रिट’ गर्ने राम्रो व्यवस्थापन भएमा कानुनको रक्षा हुने बुझेका रहेछन् । ‘यदि राजनीतिक रूपमा प्रहरीलाई चलाउन थाल्ने हो भनेदेखि यस्ता खालका घटनाहरू समाजमा अझ बढ्नेछन् भन्ने अनुभव भयो’, प्रवीणले भने ।
 
प्रवीण आफ्नो चरित्रले दर्शकलाई जोड्ने कुरामा ढुक्क छन् । ‘फिल्ममा मेरो चरित्र हेरिरहँदा दर्शकले वास्तविक जीवनमा यस्तै खालको प्रहरी भेटेका थियौँ अथवा ओहो यस्तै खालको आयो भने के हुने हो भन्ने कुरा बोल्न सक्छन् । उनीहरुमा ‘त्यो अगाडिको प्रहरी यस्तै थियो’ भन्ने जस्तो पनि लाग्छ । दर्शकले फिल्ममा दोहोरो कनेक्सन भेट्नुहुन्छु’, प्रवीण खुल्छन् ।
 
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।