गजुरी बस दुर्घटना अपडेट : एक महिलासहित ७ जनाको मृत्यु, उद्धार जारी
-आस्था न्युज
फागुन २३, २०८० काठमाडौं ।
कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–५, घाटबेँसीमा त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वी राजमार्गको घाटबेँसी भन्ने ठाउँबाट विहान पौने पाँच बजे नदीमा खसेको थियो । बसमा ५१ जनाभन्दा बढी यात्रु सवार थिए । उनीहरुमध्ये ७ जनाको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ३७ जनाको उद्धार गरिएको छ भने अझै खोजी कार्य चलिरहेको छ । उद्धार गरिएकामध्ये ३० जनाभन्दा बढी घाइते छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइदैछ ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार कार्य जारी छ । बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटनामा सामान्य घाइते चालक भने प्रहरीको नियन्त्रणमा छन् ।