अदालतले दियो अमिषालाई अन्तिम मौका

फाल्गुण २३,२०८०

-आस्था न्युज

फागुन २३, २०८० काठमाडौं ।
अभिनेत्री अमिषा पटेल र उनको कम्पनीका बिजनेस पार्टनर कुणाल ग्रुमरलाई सशरीर अदालतमा उपस्थित भएर बयान दिन अन्तिम मौका दिएको छ । अमिषालाई अदालतले मंगलबार अदालतमा उपस्थित हुन भनेको थियो । तर उनी उपस्थित भने भइनन् ।
 
पैसा लिएर फिल्म नगरेको, धोकाधडी र चेक बाउन्ससँग जोडिएको एक मामलामा राँचीको सिभिल कोर्टले अमिषा र ग्रुमरलाई अदालतमा उपस्थित हुन भनिएको थियो । 
 
तर उनका अधिवक्ताले निजी कारण देखाउँदै समयको माग गरेका थिए । उजुरीकर्ताले भने अभिनेत्रीले पटक–पटक समय माग गरेर घटनाका बारेमा ध्यान नदिएको भन्दै आपत्ति जनाएका छन् । 
 
ज्युडिशियल मजिस्ट्रेट डीएन शुक्लाको कोर्टले अभिनेत्री अमिषालाई अन्तिम मौका दिँदै आगामी तारिखमा अदालतमा उपस्थित भएर सीआरपीसीको धारा ३१३ अनुसार बयान दर्ता गराउन आदेश दिएको छ ।
 
राँचीका एक फिल्म निर्माता अजयकुमार सिंहले अमिषाविरुद्ध उजुरी दर्ता गराएका थिए । जसमा उनलाई संगीत निर्माणको नाममा अमिषाले उनीबाट अढाई करोड रुपैंयाँ लिएको उल्लेख गरिएको छ । पैसा लिएपछि अमिषाले संगीत निर्माणको कुनै काम नगरेको आरोप पीडितको छ ।
 
यसबाहेक अमिषामाथि फिल्म ‘देसी म्याजिक’ बनाउनका लागि अजय सिंहबाट थप पैसा पनि लिएको आरोप छ । दुवैबीच भएको सम्झौता अनुसार फिल्म रिलिज नभएपछि अजयले अमिषालाई पैसा फिर्ताको माग गरेका थिए । निकै समयपछि अमिषाले अजयलाई अढाई करोडको चेक दिए पनि त्यो बाउन्स भएको थियो । त्यसपछि अदालतले अमिषालाई अदालतमा उपस्थित पटक पटक आग्रह गरेको थियो ।