सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
-आस्था न्यूज
फागुन २४, २०८० काठमाडौं ।
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनसँग दोस्रो लेगमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो लेगमा पनि ३-१ कै जित निकालेको सिटीले समग्रमा ६-२ को जित निकाल्न सफल भयो ।
मंगलबार राति सिटीले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो । म्यानुएल अकांजीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनलाई जुलियन अल्भारेजले गोल गर्न महत्वपूर्ण सहयोग गरे ।
त्यसपछि ९ औं मिनेटमा अल्भारेजले आफै गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो ।
तर, २९ औं मिनेटमा मोहम्मद इलुनोसीले गोल गरेपछि एफसी कोपनहेगनले अन्तर २–१ मा झारेको थियो । तर, पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई ३–१ को सहज अवस्थामा लगे । दोस्रो हाफमा दुवै तर्फबाट गोल नभएपछि सिटीले समग्रमा ६–२ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।
यसैगरी अर्को खेलबाट स्पेनिस क्लब रियल मड्रिडले पनि अन्तिम ८ मा स्थान पक्का गरेको छ । मंगलबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइप्जिङसँग एक एक गोलको बराबरी खेले पनि पहिलो लेगमा जित हात पारेको रियललाई अन्तिम ८ मा पुग्न पर्याप्त भयो ।
पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो । मंगलबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दा रियल समग्रमा २–१ को नतिजाका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो । रियलले ६५ औं मिनेटमा भिनिसियस जुनियको गोलमा अग्रता लिएको थियो । ६८ औं मिनेटमा विल ओर्वनले लाइप्जिङका लागि बराबरी गोल गरेका थिए ।