यू-१६ महिला फुटबलः जित्नै पर्ने दबाबमा दुवै टोली
-आस्था न्यूज
फागुन २४, २०८० काठमाडौं ।
राजधानीमा जारी साफ यू-१६ महिला फुटबल च्याम्पियनिसपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुने छ ।
चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
आज भारत र नेपालबीचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । बराबरीले भने भारतलाई नै फाइदा पुग्ने छ ।
भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७-० को जित निकालेको थियो । नेपालले भुटानमाथि ३-० को जित निकालेको छ । यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बंग्लादेशसँग २-० ले पराजित भएको थियो । भारत बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।
यसैगरी, भुटान र बंगलादेशबीचको समूह चरणको अन्तिम खेल शुक्रबार हुने छ । भुटान दुबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ । फाइनल खेल आइतबार हुने छ ।