विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ
-आस्था न्यूज
फागुन २४, २०८० काठमाडौं ।
रोमानिया पठाइदिन्छु भन्दै १ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने बाग्लुङ जैमिनी नगरपालिका-८ घर भएका ५६ वर्षीय शेषकान्त शर्मा छन्।
शर्माले १ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक ९० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक रकम ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ मीनभवनबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।