Trending :
 

सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ भारतीय पक्राउ, ‘गोरे’ को समूहमा रहेका विमल पोद्दार पनि सामेल

फाल्गुण २७,२०८०

-आस्था न्यूज

फागुन २७, २०८० काठमाडौं ।
सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। राजश्व अनुसन्धान विभागको टोलीले एक साताअघिदेखि ८ जना भारतीयलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।
 
पक्राउ पर्नेहरुमा भारतको दिल्ली पश्चिम बिहार घर भएका २३ वर्षीय ध्रुव शर्मा, दिल्लीकै कृष्ण बिहार घर भएका २५ वर्षीय प्रिन्स शर्मा, दिल्ली घर भएका २२ वर्षीय रोहित कश्यप, दिल्ली रोहिनाका २३ वर्षीय दिपान्सु शर्मालगायत रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ।
 
काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने वर्ष ४४ का अमिरुदिनले भाडामा लिएको घरमा उनीहरु बसेर सुन तस्करी गर्दै आएको आरोप छ। उनीहरुलाई फागुन १८ गते पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। उनीहरुले विभिन्न देशबाट नेपाल आइपुगेको सुन भारत पास गर्ने गरेको पाइएको स्रोतले जनायो।
 
उनीहरु सबै सुन तस्करीका नाइके भनेर चिनिएका भारतीय नागरिक विमल पोद्दारको समूहमा रहेर तस्करी गर्दै आएको आरोप छ। यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुण्डी तथा क्रिप्टोको अनुसन्धान गर्दा पोद्दार हुण्डी र क्रिप्टोमा समेत संलग्न भएको खुलेको थियो। पोद्दारले अमेरिकादेखि नेपालसम्म सञ्जाल फैलाएर २ खर्ब ८४ अर्ब बढीको हुण्डी तथा क्रिप्टोको कारोबार गरेको तथ्य भेटिएको थियो। 
 
पोद्दार समूहका १७ जनालाई प्रतिवादी बनाइए पनि ४ जना मात्रै पक्राउ परेका थिए। सुन तस्करीका नाइकेमध्येका एक चुणामणि उप्रेती ‘गोरे’ समूहमा आबद्ध भएर सुन तस्करी गरेका पोद्दार अहिले सुनका साथै हुण्डी र क्रिप्टोको धन्दामा लागेको सीआईबीको अनुसन्धानले देखाएको छ।
 
गोरे समूहमार्फत् ३८ क्वीन्टल सुन तस्करी भएको प्रकरणमा २०७५ सालमा पोद्दार समेत प्रतिवादी थिए। मोरङ अदालतले पोद्दारलाई पुर्पक्षमा पठाएको थियो। पछि उनी उच्च अदालतबाट १० लाख धरौटीमा रिहा भएका थिए।