निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान

फाल्गुण २७,२०८०

-आस्था न्यूज

फागुन २७, २०८० काठमाडौं ।
फिल्म निर्देशक यादव खरेललाई नेपाल चलचित्र निर्देशक समाजले सम्मान गरेको छ । समाजको १६ औं वार्षिक साधारणसभाको अवसर पारेर आइतबार राजधानीमा उनीसँगै विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको हो ।
 
समाजले आयोजना गरेको चलचित्र स्रष्टा सम्मान–२०८० समारोहमा गीतकार तथा फिल्म निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान दिएको हो । निर्देशक खरेल भने स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित भएपछि उनका प्रतिनिधिले सम्मानपत्र ग्रहण गरे ।
 
त्यस्तै समारोहमा नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’का निर्देशक प्रेमबहादुर बस्न्यातलाई हिरासिंह खत्री स्मृति सम्मान, निर्देशक आकाश अधिकारी, दिनेश डीसी र सम्झना उप्रेती रौनियारलाई स्रष्टा सर्जक सम्मान दिइएको छ ।
 
यसैगरी निर्देशक रामबाबु गुरुङलाई फिल्म ‘कबड्डी कबड्डी ४’ बाट ‘डिरेक्टर अफ द इयर २०७९(कमर्सियल­)’ र सुजीत बिडारीलाई फिल्म ‘ऐना झ्यालका पुतली’बाट ‘डिरेक्टर अफ द इयर २०७९(क्रिटिक)’ विधामा सम्मान गरिएको छ ।
 
उनीहरुलाई अभिनेता राजेश हमालले सम्मान गरेका थिए । अभिनेता हमालले नेपाली फिल्म क्षेत्रका लागि आफू जहाँ जानु परे पनि जान तयार रहेको बताए । ‘अहिले म खुला छु । त्यसकारण नेपाली फिल्मको वृत्ति विकासदेखि हरेक पक्षका लागि म तपाईंहरुसँग जहाँ जान पनि जान तयार छु,’ उनले भने ।
 
समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली फिल्म विकासका लागि निर्देशकको योगदानको स्मरण गर्दै फिल्म क्षेत्रको विकासका लागि सरकारी तवरबाट पनि चासो हुनुपर्ने बताए ।