राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता
-आस्था न्यूज
फागुन २८, २०८० काठमाडौं ।
राष्ट्रिय सभा अध्यक्ष चुन्न मंगलबार हुने निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता हुँदै छ । आइतबारै पाँचदलीय सत्तागठबन्धन र प्रतिपक्षी कांग्रेसले उम्मेदवार तय गरिसकेका छन् । माओवादीले गठबन्धनको साझा उम्मेदवारको रूपमा केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेसले युवराज शर्मालाई प्रतिस्पर्धामा उतार्ने भएको हो ।
संसद् सचिवालयले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार सोमबार उम्मेदवारहरूको मनोनयन दर्ता गराउनुपर्ने कार्यतालिका छ । निवर्तमान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् । रिक्त पद पूर्तिका लागि निर्वाचन हुन लागेको हो ।
‘राष्ट्रिय सभाका कुनै सदस्यलाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दिने समय सोमबार ११ देखि १ बजेसम्मलाई संसद् भवनको ल्होत्से हलमा तोकिएको छ,’ संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भने । उनका अनुसार सोमबार नै १ः३० बजे सचिवालयले उम्मेदवारको सूची प्रकाशन गर्नेछ ।
एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेका दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । चितवनको भरतपुरबाट प्रतिनिधित्व गर्ने दाहाल ०७८ चैतमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए ।
पाँचदलीय गठबन्धनमा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले लिने सहमति छ । वर्तमान उपाध्यक्ष उर्मिला अर्याल माओवादीबाट अध्यक्षको दाबेदार थिइन् । लुम्बिनीबाट हालै निर्वाचित झक्कु सुवेदी पनि दाबेदार थिए । तर, माओवादी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उता कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमतिका साथ नेता कृष्णप्रसाद सिटौलालाई कोशीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित गराएको थियो । तर, पुरानो सत्तासमीकरण बदलिएसँगै माओवादी र कांग्रेस फरक कित्तामा पुगेपछि कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको हो । बाँकेबाट प्रतिनिधित्व गर्ने शर्मा २१ फागुन ०७८ मा लुम्बिनीबाट निर्वाचित भएका थिए ।