बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-आस्था न्यूज
फागुन २९, २०८० काठमाडौँ ।
बागमती प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो ३ः०० बजे प्रदेशसभा बैठक बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
प्रदेशसभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
गत फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका र २०८०-०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समिति गठन गरेको थियो ।
११ सदस्यीय सो समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष बिचको सहमति लगायतका विषयमा अध्ययन तथा परामर्श गरी आजको बैठकमा प्रतिवेदन पेस गर्न निर्देशन संसद्ले दिएको थियो ।
प्रदेशसभा बैठक अघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ ।