प्रोफायलः हरिवंश किन खलासी हुन पाएनन् ?

फाल्गुण २९,२०८०

-आस्था न्यूज

फागुन २९, २०८० काठमाडौं । 
  • नेमिष गौतम
काठमाडौं । नेपाली फिल्ममा अभिनेता राजेश हमालको आधिपत्य सुरु भइरहँदा अभिनेता हरिवंश आचार्यले हाँस्यव्यंग्यमा नामसँगै दाम पनि राम्रै आर्जन गरिरहेका थिए । हाँस्यव्यंग्यमा स्थापित हरिवंशलाई त्यही समयदेखि ‘हिरो’ हुने ठूलै रहर पलाएको थियो । हाँस्यव्यंग्य अभिनयकलाबाट मनग्गे आर्जन गरिरहँदा उनी भित्र चाहिँ ‘हिरो’ हुने अभिलाषा जीवितै थियो ।
 
‘हाँस्यव्यंग्यबाट नाम र दाम कमाए पनि मेरो दिमागमा ‘हिरो’ हुने भूत सलबलाइरहन्थ्यो । राजेश हमाल, भुवन केसीलगायतका अभिनेताहरुको नेपाली फिल्ममा जगजगी भैरहँदा र नेपाली फिल्म निर्माणको क्रम तिब्र गतिमा अघि बढिरहँदा हाँस्यव्यंग्यको कलाकार भन्दा त हिरो पो ठूलो हो कि भन्ने सोच मेरा मनमा गढिरह्यो’, हालैको भेटमा हरिवंशले मनको गुम्फन यसरी खोले । 
 
हरिवंशमा ‘हिरो’ हुने भूत चढेपनि उनी आफूलाई समाज र दर्शकले ‘हिरो’ स्वीकार्दैन भन्नेमा ढुक्क थिए । ‘किनकी त्यो समयमा हँसाउने इमेज बनाएको म ‘हिरो’ बन्छु भन्ने कुरो ठट्टैको विषय बन्थ्यो । मान्छेहरु ‘फलानालाई हँसाउनेमा सुहाउँछ, हिरो त हुँदैन’ भन्थे । तर मलाई ‘हिरो’ को भूतले कहिल्यै छोडेन’, हरिवंले सुनाए ।
 
बलिदानले जुराएको ‘हिरो’
हरिवंशले ‘हिरो’ को भूत सवार कुरा सुनाइहँदा उनी फिल्म ‘बलिदान’ को समयतिर फर्किए । जुन फिल्मले उनलाई पहिलोपटक ‘हिरो’ बनाएको थियो । ‘एकदिन रामेश दाई, तुलसी घिमिरे दाई आएर ‘हरिजी फिल्म बलिदानमा तपाईं ‘हिरो’ भन्नुभयो । 
 
‘बलिदान’ आफैंमा क्रान्तिकारी फिल्म थियो । मैले ‘यस्तो क्रान्तिकारी फिल्ममा म कहाँबाट हिरो हुनु । म बलिदानमा हिरो भएँ भने फिल्म बिग्रिन्छ’ भनें । तर रामेश दाई मान्नुभएन’, हरिवंशले सम्झिए,‘रामेश दाईले ‘तिमी हिरो हो, तिम्रो आँखा हेर त, तिम्रो आँखाले अभिनय बोलिरहेको छ’ भन्नुभयो । रामेश दाईहरु चरित्र पनि राम्रो, समाजलाई केही योगदान दिएको र अभिनय पनि गर्न सक्ने मान्छे खोज्दै हिँड्नुभएका रहेछ ।’
 
हरिवंशको कानमा अहिले पनि रामेशले त्यो समयमा भनेको ‘हाँस्यव्यंग्यलाई यो ठाउँमा पु¥याउनुभयो, अब फिल्मलाई पनि पु¥याउनुपर्छ, यो चरित्र तपाईंले नै निभाउनुपर्छ’ गुञ्जिरहँदो रहेछ । ‘तर मलाई चाहिँ ‘हिरो’ हुन्छु भन्ने आत्मविश्वास थिएन ।
 
तर, उहाँहरुले हरिवंशले गर्न सक्छ भनेर मलाई त्यो भूमिका दिनुभयो । ‘बलिदान’मा मैले पनि धेरै मेहनत गरें । फिल्मकै लागि मैले आफ्नो मोटो जिउ घटाएँ । ‘बलिदान’ मा अभिनय गरिसकेपछि मैले एक खालको राम्रै छाप छोडें’, हरिवंश सन्तुष्टि पोख्छन् । 
 
‘कमेडियन हिरो हुँदैनन्’ भन्ने मान्छेको सोचलाई ‘बलिदान’मा आफूले निभाएको ‘हिरो’ चरित्रले भत्काएको हरिवंशको बुझाई छ । ‘बलिदानबाट मैले स्याबासी पाएँ । मेरो अभिनयले बलिदान बिग्रिएन । बलिदान हेर्ने दर्शकहरुले ‘बलिदानलाई तपाईंले न्याय दिनुभयो’ भन्दा असाध्यै खुशी भएँ । किनकी मैले ‘कमेडियन हिरो हुँदैनन्’ भन्ने भ्रमलाई तोडिसकेको थिएँ’, हरिवंशले भने ।
 
‘के घर के डेरा’मा ‘हिरो’ को सट्टा ‘भिलेन’
फिल्म ‘बलिदान’ अघि ‘के घर के डेरा’मा हरिवंश ‘हिरो’ नै थिए । तर अन्तिम समयमा आएर उनी ‘भिलेन’ बने । ‘मलाई हिरो खेलाउनु हुँदैन । फिल्म बिग्रिन्छ भन्ने कुराहरु सुनिए । त्यसपछि पुरन जोशीलाई ‘हिरो’का रुपमा लिइयो । म चाहिँ भिलेन बनें । तर फिल्मको सुरुको कथामा म नै ‘हिरो’ थिएँ । हँसाईराख्ने मान्छेलाई ‘हिरो’ बनाउनु हुँदैन भनेपछि पछि चरित्रमा सट्टापट्टा गरियो’, उनी भन्छन् ।
 
हरिवंशका साहित्यिक ‘हिरो’
हरिवंश पढ्ने, लेख्ने, बुझ्ने र मान्छे चिन्ने उमेरमा आइपुग्दा उनले धेरै ‘हिरो’ लाई पढे र धेरैलाई पर्दामा देखे । ‘फिल्म हेर्नुअघि म पुस्तक खुबै पढ्थें । त्यो बेला मलाई भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, कृष्णचन्द्र सिंह प्रधान साहित्यका हिरो लाग्थे । उहाँहरुका किताब जति धेरै पढ्थें, त्यति नै उहाँहरु ‘हिरो’ हो जस्तो लाग्थ्यो’, हरिवंश भन्छन् । उनका अनुसार रेडियो नेपालमा ‘राजा’हरुको नाम बारम्बार गुञ्जिरहन्थ्यो । उनलाई उसबेला ‘राजाहरु’ पनि ‘हिरो’ हुन सक्छन् भन्ने लाग्दोरहेछ ।
 
हिन्दीका प्रिय ‘हिरो’
हरिवंश सानैदेखि हिन्दी फिल्म हेरेर हुर्किए । उनलाई ‘कुन फिल्म हेरें’ भन्ने सम्झना त थिएन, तर जुन फिल्ममा बढी फाइट छ, त्यो चाहिँ नछुटाइकन हेर्थे । ‘दारा सिंह खेलेको फिल्म भनेपछि त्यो फिल्म एकदमै राम्रो लाग्ने । साथीहरुले दारा सिंहको फिल्म हेर्न जाउँ भनेपछि पैसा चोरेर हेर्न गइन्थ्यो । कुनै फिल्म हेर्नुअघि कतिवटा फाइट छ भनेर सोध्थ्यौं, अनि फिल्म हेर्न जान्थ्यौं’, हरिवंश सम्झन्छन् । 
 
हरिवंश अभिनेता दिलीप कुमारको फिल्म ‘संघर्ष’ पुरा नहेरी हलबाट निस्किएका रहेछन् । ‘त्यो फिल्ममा दारा सिंह थिएनन् । दारा सिंह नभएपछि फाइट हुने कुरै भएन । फिल्ममा तरबारको मात्र फाइट थियो’, हरिवंश हाँस्दै भन्छन्, ‘पछि त त्यो फिल्म दुई, तीनपटक हेरें ।’
 
हरिवंशलाई त्यो बेला राजेश खन्नाको अभिनय निकै मनपर्दो रहेछ । तर उनका प्रिय राजेश भन्दा जितेन्द्र नै रहेछन् । उनको बुझाईमा जितेन्द्रमा चकलेटी अनुहारसँगै नृत्य गर्न सक्ने क्षमता थियो । ‘एकदिन मेरो साथीका दुईजना दिदी भुत्लाभुत्ली गरिहेका रहेछन् । किन रहेछ भनेर बुझ्दा एउटाले राजेश खन्ना राम्रो र अर्कोले जितेन्द्र राम्रो भन्दैथिए । अनि मैले त्यहाँ ‘जितेन्द्र राम्रो हो नि कहाँ राजेश खन्ना राम्रो’ भनेर मुद्दा छिनिदिएँ । तर अहिले बुझ्दा राजेश खन्ना राम्रो अभिनय गर्दा रहेछन् भन्ने लाग्न थालेको छ,’ उनी सम्झन्छन् । उनलाई फिल्ममा गम्भीर भावमा अभिनय गर्ने भएकाले अभिनेता दिलीप कुमार पनि मनपर्दोरहेछ ।
 
सल्यान केसीबाट प्रभावित हरिवंश
हरिवंशको सम्झनामा उनले नेपाली फिल्म ‘मनको बाँध’ २२ पटक हेरेका रहेछन् । त्यो फिल्मका ‘हिरो’ सल्यान केसी उनलाई औधी मनपरेको रहेछ । ‘खासमा उहाँ अभिनेता नै होइन । त्यो बेला ‘हिरो’ भनेको क्षेत्री, बाहुन अर्थात् आर्यन अनुहार भएकालाई मात्र मानिन्थ्यो । त्यो बेला फोटो हेरेर ‘हिरो’ छानिन्थ्यो । सल्यान केसी मलाई निकै राम्रो लाग्थ्यो । नेपाली फिल्मको ‘हिरो’ भनेपछि फिल्ममात्र होइन, पोस्टर पनि झनै राम्रो लाग्ने । श्यामश्वेत पोस्टर हेरेर दंग पर्थें’, उनी भन्छन् ।
 
१४ वर्षमा ‘कुमारी’मा अभिनय
हरिवंशले १४ वर्षको उमेरमा फिल्म ‘कुमारी’मा अभिनय गरे । फिल्ममा अभिनय गर्ने मौका भने उनले ‘मनको बाँध’को एक दृश्यबाट पाएका रहेछन् । ‘मनको बाँध’मा उस्ताद भैरवबहादुर थापा ‘पिता’ र पोखराका कुलदिप शेरचन ‘छोरा’को भूमिकामा अभिनय गरेका छन् । उनीहरुको एउटा पसल हुन्छ । त्यो पसलमा अभिनेत्री बसुन्धरा भुषाल सामान किन्न आउँछिन् । बसुन्धरालाई भैरवबहादुर र कुलदिपले हरिवंशकै भाषामा ‘ताक्दा’ रहेछन् । त्यो दृश्य उनले धेरैपटक हेरेका थिए ।
 
‘म १४ वर्षको हुँदा फिल्म ‘कुमारी’का लागि अन्तर्वार्ता दिएँ । मलाई निर्देशक प्रेमबहादुर बस्नेतले ‘तिमी के गर्न सक्छौ ?’ भनेपछि मैले ‘मनको बाँध’मा भैरवबहादुर थापा र कुलदिप शेरचनको अभिनयसँगै बसु दिदीको संवाद बोलें । मेरो नाम एक नम्बरमा निस्कियो । मेरो भूमिका खलासीको थियो । फिल्मको कथा कुमारीलाई बिहे गरेमा उसको श्रीमानको मृत्यु हुन्छ भन्ने थियो । कुमारीको श्रीमानको भूमिकामा गौतमरत्न तुलाधर हुनुहुन्थ्यो । फिल्ममा उहाँ ट्रक चालक हुनुहुन्थ्यो । कुमारीलाई बिहे गरेपछि उहाँको ट्रक दुर्घटनामा परेर निधन हुने दृश्य थियो । तर, मेरो उमेर १४ वर्षको मात्र भएपछि बालश्रमको हिसाबले खलासी बन्न हुँदैन भन्ने कुरा उठेपछि मलाई त्यो भूमिकामा अभिनय गराइएन । त्यसपछि मैले त्यही फिल्ममा एउटा सानो भट्टीमा बाउ छोरा गएर रक्सी खाने दृश्यमा अभिनय गराइयो’, हरिवंश भन्छन् ।
 
आफैं ‘हिरो’
हरिवंश ‘बलिदान’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘महापुरुष’, ‘मदनबहादुर हरिबहादुर’, ‘महाजात्रा’ र ‘भूठान’को आफ्नो चरित्रलाई ‘हिरो’ मान्छन् । ‘महापुरुषमा म ‘हिरो’ नै हो । फिल्मको हकमा अरु सहयोगी कलाकार हुन् । हिरो भन्नासाथ गीत गाउँने, नाँच्ने र युवा अनुहार सम्झन्छन् । तर चरित्रलाई जसले ‘लिड’ गर्छ, त्यो नै हिरो हो’, उनी भन्छन् ।
 
हरिवंश ‘मदनबहादुर हरिबहादुर’लाई उदाहरण दिन्छन् । फिल्ममा ‘हरिबहादुर’ भलै नकारात्मक भूमिकामा देखिएपनि हरिवंशका लागि ऊ ‘हिरो’ नै हो । ‘हरिबहादुरको चरित्र जे जस्तो भए पनि ऊ हिरो हो । त्यो सिरियलमा हरिबहादुरलाई झिकिदिने हो भने त्यो अपुरो हुन्छ । ‘हिरो’ परिस्थिति अनुसार हँसाउने पनि हुनसक्छ, रुवाउने पनि हुनसक्छ’, हरिवंशको बुझाई छ ।
 
आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’मा हरिवंश भिलेन चरित्रमा देखिँदैछन् । उनी फिल्मका विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झालाई एकतिरको ‘हिरो’ र आफूलाई अर्कोतिरको ‘हिरो’ मान्छन् । ‘उनीहरुको मिसनमा मेरो नेगेटिभ क्यारेक्टरलाई पोजेटिभ क्यारेक्टरमा ढाले । त्यो मामलामा उनीहरु ‘हिरो’ भए । मैले पनि फिल्ममा कसैलाई डोहो¥याएर लिएर गएको छु । यो फिल्ममा मेरो क्यारेक्टर अथवा मेरो भूमिका झिक्यो भने अरुले खेलेको भूमिका र कथा अधुरै हुन्छ । मैले कथालाई डोहो¥याएको छु’, उनी भन्छन् ।
 
उनको बुझाईमा ‘हिरो’ भनेको कथालाई डोहो¥याउने व्यक्ति नै हो । ‘त्यो मान्छे ८० वर्षको पनि हुनसक्छ अथवा मान्छे बच्चा पनि हुनसक्छ । तर फिल्म ऊ प्रति केन्द्रित हुनुपर्यो’, हरिवंशको बुझाई छ ।
 
अभिनयको अफरै अफर
हरिवंशलाई महिनामा एक फिल्ममा अभिनयको अफर आउँछ । तर उनी राम्रो स्क्रिप्ट र चित्तबुझ्दो टिमलाई प्राथमिकता दिन्छन् । ‘अभिनयको अफर एकदमै धेरै आउँछ । मैले समय पनि दिन सकेको छैन । चित्तबुझ्दो स्क्रिप्ट पनि भेटाएको छैन । म क्यारेक्टरमा सधैं खुला छु’, उनी भन्छन्, ‘कोही स्क्रिप्ट लिएर आउनुहुन्छ, कोही दुई पानाको कन्सेप्ट लिएर आउनुहुन्छ, कसैले मुखैले सुनाउनुहुन्छ । राम्रो टिम र कथामा काम गर्न मन लाग्छ, तर चरित्र चाहिँ अघिल्लो फिल्मको भन्दा भिन्न हुँदैन । चरित्र भिन्न नभएपछि पछि गरौंला भनेर छोडिदिन्छु ।’ (–नेपाल न्यूज बैंक)