प्रधानमन्त्रीलाई दिल खोलेर विश्वासको मत दिन ओलीको आग्रह
-आस्था न्यूज
फागुन २९, २०८० काठमाडौं ।
सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिल खोलेर विश्वासको मत दिन आफ्ना सांसदहरूलाई आग्रह गरेका छन्। मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बिना हिचकिचाहट मत दिन सांसदहरूलाई आग्रह गरेका हुन्।
‘हामी एकदम खुलेर, दिल खोलेर भोलि बिना हिचकिचाहट, मनको कुनामा कतै नराखेर, सकारात्मक कदम हो, त्यसकारण विश्वासको मत दिन्छौं। विश्वासको मतमा हामी सम्पूर्ण प्रतिनिधि सभाका सदस्यहरू उपस्थिति हुनेछौं। सम्पूर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि यस प्रतिनिधि सभाको विश्वास छ भन्ने पक्षमा मतदान गर्नेछौं। यो पार्टीको तर्फबाट कमरेडहरूलाई निर्देश र आदेश पनि हो’, उनले भने।
ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउँदा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएकाले पनि प्रचण्डलाई नै विश्वासको मत दिनुपर्ने बताएका थिए। उनले प्रचण्डले विश्वासको मत नपाउँदा देश ठूलो असफलतामा जाने बताए।