माल्दिभ्सबाट भारतीय सेनाहरु फिर्ता हुँदै

फाल्गुण २९,२०८०

-आस्था न्यूज

फागुन २९, २०८० काठमाडौं ।
माल्दिभ्समा रहेका भारतीय सेनाहरु फिर्ता हुन सुरु भएको छ । माल्दिभ्सको सत्तामा मोहमद मोइज्जु आएपछि भारतीय सेना फिर्ता गर्ने घोषणा गरेका थिए ।  
 
भारतीय सेनालाई माल्दिभ्सबाट हटाउने एजेन्डासहित चुनावमा सफलता पाएपछि लगातार यसबारे अभिव्यक्ति दिँदै आएका थिए । 
 
माल्दिभ्सको मिहारु खबरलाई उद्धृत गर्दै एएफपीले २५ भारतीय सेना फिर्ता भएको जनाएको छ । 
 
भारतीय सेना माल्दिभ्समा ८८ जना रहेकोमा अरु पनि चाँडै फर्कने विश्वास गरिएको छ । भारतीय सेना फिर्ता भएपछि सुरक्षा जिम्मा माल्दिभ्सको नेशनल डिफेन्स फोर्सले लिएको छ ।  
 
तर, भारत र माल्दिभ्स दुवैले यसको आधिकारिक पुष्टि भने गरेका छैनन् । यसअघि गत मे २९ मा माल्दिभ्समा भारतीय सैनिकलाई बदल्न २६ प्राविधिकको पहिलो टोली माल्दिभ्स पुगेको थियो ।
 
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र माल्दिभ्सबीच भएको सम्झौताअनुसार मे १० सम्ममा भारतीय सैनिक स्वदेश फर्किने जानकारी दिएका थिए ।
 
माल्दिभ्समा रहेका भारतीय सैनिकले दुई हेलिकोप्टर र एउटा विमान सञ्चालन गर्छन् । 
 
प्रायः तिनीहरू उद्धार वा सरकारी कामहरूमा प्रयोग गरिन्छ । भारतीय हेलिकोप्टर र विमानले माल्दिभ्समा मानवीय सहायता र चिकित्सा आपतकालमा त्यहाँका जनातालाई मद्दत जारी राखेका छन् । 
 
प्राविधिक कर्मचारीहरू मात्र यी साधन सञ्चालन गर्न पठाइएको छ ।
 
भारतले माल्दिभ्सलाई २०१० र २०१३ मा दुई वटा हेलिकोप्टर र २०२० मा एउटा सानो विमान उपहार दिएको थियो । यो विषयलाई लिएर माल्दिभ्समा निकै हंगामा भएको थियो । 
 
मुइज्जुको नेतृत्वमा विपक्षीले तत्कालीन राष्ट्रपति सोलिहमाथि ‘इन्डिया फस्र्ट’ नीति अपनाएको आरोप लगाएका थिए ।