सलमानको ‘टाइगर’ चरित्रलाई ब्रेक दिँदै वाईआरएफ

फाल्गुण ३०,२०८०

-आस्था न्यूज

फागुन ३०, २०८० काठमाडौं ।
यशराज फिल्मस् (वाईआरएफ)को स्पाई युनिभर्सको सुरुवात सलमान खानको ‘टाइगर’ फ्रेञ्चाइजीबाट भएको थियो । जुन फ्रेञ्चाइजी बलिउडकै सबैभन्दा ठूलो र हिट फ्रेञ्चाइजीका रुपमा स्थापित भयो । ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ पछि ‘वार’ र ‘पठान’ले वाईआरएफको स्पाई युनिभर्सलाई नयाँ तहसम्म पु¥यायो ।
 
अब भने वाईआरएफको पछिल्लो स्पाई थ्रिलर ‘टाइगर ३’ ले आशा अनुरुप दर्शकको साथ नपाएपछि वाईआरएफले सलमानको ‘टाइगर’ भूमिकालाई केही समय ब्रेक दिने निर्णय लिएको छ । यो ब्रेक सलमानको केमियो चरित्रमा पनि लागु हुनेछ । वाईआरएफले सलमानलाई यो चरित्रबाट ब्रेक लगाएर उनलाई नयाँ अवतारमा कमव्याक गराउने घोषणा गरेको छ ।
 
स्पाई युनिभर्समा हालसम्म ५ फिल्म निर्माण भएका छन्, जसमा ४ वटा टाइगर नै छन् । अहिले वाईआरएफको टिममा पनि ‘टाइगर’ फ्रेञ्चाइजी दर्शकका लागि धेरै भएको र सलमानलाई नयाँ अवतारमा ल्याउनु पर्ने आवाज उठ्न थालिसकेको छ । फिचर फिल्ममा सलमानलाई केमियोका रुपमा प्रवेश गराउँदा उनको स्टारडममा कमी हुने विश्वास टिमको छ ।
 
त्यहीकारण वाईआरएफले सलमानसँगै ‘टाइगर’लाई केही फरक रुपमा प्रस्तुत गर्ने ठूलो योजना बनाएको छ । सलमान पनि वाईआरएफको योजनामा सहमत छन् ।
 
वाईआरएफको योजना अनुसार ‘वार २’ र ‘पठान २’मा सलमानको ‘टाइगर’का रुपमा केमियो हुने छैन । ‘सलमान पनि केमियो गरिरहँदा थाकिसकेका छन् । उनी केही नयाँ ठूलो काम गर्न चाहन्छन् । निर्माता आदित्य चोपडा पनि सलमानलाई केमियोमा ल्याउन चाहदैनन् । यसकारण उनी पनि स्पाई युनिभर्सलाई केमियोको भरोसमा अगाडि बढाउन चाहदैनन् । उनी हरेक भूमिकालाई कथामा फिट गराउन चाहिरहेका छन् । त्यसकारण अब उनी सलमानलाई नयाँ तरिकाबाट दर्शकमाझ ल्याउने तयारीमा छन्’, टिमका एक सदस्यले भनेका छन् ।
 
हालका दिनमा ऋतिक रोशन मुम्बईको एक स्टुडियोमा ‘वार २’को सुटिङ गरिरहेका छन् । उनी यो वर्षको अन्त्यमा शाहरुख खानको ‘पठान २’को पनि सुटिङ गर्नेछन् ।