त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाः उपाधिका लागि नेपाल र पपुवा न्युगिनी भिड्दै
-आस्था न्यूज
फागुन ३०, २०८० काठमाडौं ।
हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि बुधबार नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीच भिडन्त हुँदैछ। नेपाल र पीएनजीबीचको फाइनल खेल बिहान ११ः४५ बजे सुरु हुनेछ।
त्यसअघि आजै बिहान हङकङ र हङकङको ‘ए’ टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ।
मंगलबार नेपालले पीएनजीलाई र पीएनजीले हङकङलाई पराजित गर्दै दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका थिए। नेपालले पीएनजीलाई ८२ रनले हराएको थियो भने पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले जितेको थियो।
नेपालका ब्याटर कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपाललाई पीएनजीमाथि सहज जित हासिल गरेको थियो। भुर्तेलले ब्याटिङतर्फ ५९ रन बनाएका थिए भने बलिङतर्फ ४ विकेट लिएका थिए। यस्तै सन्दीप जोराले विष्फोटक अर्धसतक बनाएका थिए।
यस्तै अर्को खेलमा पीएनजी सामु हङकङ निरीह बनेको थियो। टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हङकङले १८।३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन मात्र बनाएको थियो।