हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

फाल्गुण ३०,२०८०

-आस्था न्यूज

फागुन ३०, २०८० काठमाडौं । 
हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिएका छन् । क्यारेबियन राष्ट्र हाइटीमा पछिल्लो समय लगातार हिंसा र लुटपाटका घटनाहरु बढेपछि प्रधानमन्त्री हेनरीले पदबाट राजीनामा दिएका हुन् । 
विद्रोही पक्षले अहिले राजधानीको ८० प्रतिशत भुभागमा नियन्त्रण गरेको दाबी गरिरहेका बेला हेनरीले शान्ति सुव्यवस्था कायम गराउनका लागि आफू पदबाट पछि हट्न तयार रहेको बताएको अल जजिराले जनाएको छ ।  पदबाट राजिनामा दिए पछि अव नयाँ सरकार नबन्दासम्म हेनरी कार्यबहाक प्रधानमन्त्रीको रुपमा रहने छन् । 
 
उनले एक भिडियो सन्देश जारी गर्दै संक्रमणकालीन परिषद स्थापना गर्ने र उक्त परिषदले प्रधानमन्त्री र नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने बताए । आफू हाइटीको हान्ति र स्थिरता चाहने व्यक्ति भएकाले पदबाट पछि हट्न तयार रहेको उल्लेख गरे ।
 
हाइटीमा हिंसा लगातार बढेपछि केन्या पुगेका प्रधानमन्त्री हेनरी उतैबाट अमेरिका गएका थिए । विद्रोही समूहले राजधानी पोर्ट-ओ-प्रिन्सको अन्तर्राष्ट्रिय विमानस्थलसमेत कब्जामा लिएपछि फर्किन पाएका थिएनन् । उनले उतैबाट भिडियो सन्देश जारी गरेका हुन् । 
 
हेनरी अहिले अमेरिकाको पोर्टो रिकोमा रहेको बताइएको छ । हाइटीमा हिंसाका कारण त्यहाँका ३ लाख ६२ हजार नागरिक विस्थापित भएका छन् ।