नेपालले हङकङ टी-२० आई सिरिजको उपाधि गुमायो
-आस्था न्यूज
फागुन ३०, २०८० काठमाडौं ।
खराब प्रदर्शनका कारण नेपालले हङकङ टी–२० आई सिरिजको उपाधि गुमाएको छ। १७२ रनको लक्ष्य पाएको नेपाल १६ दशमलव ३ ओभरमै जम्मा ८५ रनमा अलआउट हुनपुग्यो।
योसँगै उक्त सिरिजको उपाधि पीएनजीले जितेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।
जवाफी व्याटिङमा उत्रिएको नेपालले सुरुवातीदेखि नै खराब प्रदर्शन गर्दै ८५ रनमै अलआउट भएर उपाधि पीएनजीलाई सुम्पियो।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए भने आरिफ शेखले १५ रन। यस्तै कप्तान रोहित पौडेलले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीको तर्फबाट टोनी उराले ६१ रनको योगदान दिए। कुशल भुर्तेलबाट आउट हुनुअघि उनले ३७ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरेका थिए।