प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। बुधबारको बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए।
मतदानमा २६८ जना सहभागी थिए। प्रधानमन्त्रीको मत माग्ने प्रस्तावको पक्षमा १५७ मत परेको थियो। प्रस्तावको विपक्षमा ११० मत परेको थियो। र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो। सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।
विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले देश औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा नरहेको र औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने आफ्नो संकल्प गरेको बताएका थिए।
‘आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु। मेरो प्रतिबद्धतामा यो सम्मानित संसद्ले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ’, उनले भनेका थिए।
तेस्रो पटक प्रधानमन्त्री भएपछि उनले विश्वासको मत लिएको यो तेस्रो पटक हो। २०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएका उनले पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। त्यतिबेला मतदानमा सहभागी २७० मध्ये उनलाई २६८ जनाले विश्वासको मत दिएका थिए, २ जनाले विपक्षमा मत दिएका थिए।
पुस १० मा एमाले, रास्वपा, राप्रपा लगायतका दलहरू सम्मिलित गठबन्धनबाट प्रधानमन्त्री बनेको भए पनि प्रचण्डले फागुनमै सो गठबन्धन तोडेका थिए। त्यसपछि कांग्रेस, एकीकृत समाजवादी लगायतका दल सम्मिलित पुरानै गठबन्धन ब्युँत्याएका थिए। जसकारण एमाले लगायतका दलले समर्थन फिर्ता लिएका थिए।
कांग्रेस, एकीकृत समाजवादीको तर्फबाट मन्त्रीहरू नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेपछि उनले चैत ६ गते पुनः विश्वासको मत लिएका थिए। यसपटक मतदानमा २६२ सांसद सहभागी भएकोमा प्रस्तावको पक्षमा १७२ जनाले मत दिए। त्यस्तै, प्रस्तावको विपक्षमा ८९ र तटस्थरमत दिन्नँ भन्ने पक्षमा १ मत खसेको थियो।