हमासको आक्रमणमा मृत्यु भएका नेपालीको परिवारलाई इजरायलले आजीवन भत्ता दिन सुरु
-आस्था न्यूज
चैत १, २०८० काठमाडौं ।
चरमपन्थी संगठन हमासको हमलामा मृत्यु भएका नेपालीको परिवारलाई इजरायलले भत्ता दिन थालेको छ । आक्रमणमा परी बेपत्ता कञ्चनपुरका विपिन जोशीको परिवारलाई पनि भत्ता उपलब्ध गराइएको छ । इजरायली राजदूत हनान गोडरले मंगलबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यसको जानकारी गराएका छन् ।
इजरायलको प्यालेस्टाइन सीमावर्ती सहरमा २० असोजमा हमास समूहले गरेको आक्रमणमा किबुजस्थित कृषि फार्ममा इन्टर्न गरिरहेका १० नेपाली विद्यार्थीको निधन भएको थियो । आक्रमणमा परेका कञ्चनपुरका जोशी अझै बेपत्ता छन् । उनलाई बन्धक बनाइएको बताइएको छ । पटक-पटकको प्रयासमा पनि उनको रिहाइ हुन सकेको छैन ।
राजदूत गोडरका अनुसार मारिएका विद्यार्थीका बुबा-आमालाई इजरायल सरकारले आजीवन भत्ताको व्यवस्था गरेको छ । त्यस्तै, हमासको बन्धक रहेका जोशीसहित एक सय ३४ जनाको परिवारलाई पनि मासिक रूपमा भत्ता दिन थालिएको उनले बताए ।
आक्रमणमा परेर निधन भएका नेपालीका परिवारजनलाई इजरायली कानुनअनुसार त्यहाँकै नागरिकसरह आजीवन भत्ता दिन थालिएको राजदूत हनान गोडरले बताए ।
‘इजरायलमा रहेका नेपालीहरू हाम्रा अतिथि होइनन्, हाम्रो परिवारका सदस्य हुन् । हाम्रो कानुनले आतंककारी हमलाका इजरायली र नेपाली पीडितलाई समान व्यवहार गर्दछ,’ राजदूत गोडरले नयाँ भने, ‘आतंककारी हमलामा मारिएका नेपाली विद्यार्थीहरूको परिवारलाई जीवनभरिका लागि मासिक भत्ता आउन थालेको छ । परिवारको नेपाली बैंकको खातामा स्टेट इन्सुरेन्स अफ इजरायलबाट सीधै पैसा पठाउन थालिएको छ ।’
राजदूत गोडरले मृतकका परिवारलाई उल्लेख्य रकम आउन थालेको बताए तर, उनले रकम खुलाएनन् । ‘सुरुमा कागजपत्र मिलाउने प्रक्रियागत काम मिलाउन अलिक समय लाग्यो, पीडित परिवारले अहिले नियमित रूपमा आजीवन भत्ताका रूपमा रकम पाइरहेका छन्,’ राजदूत गोडरले भने, ‘उहाँहरूले परिवारजन गुमाउनुभएको छ । त्यसको क्षतिपूर्ति केहीले पनि हुँदैन । तर, इजरायलको कानुनअनुसार उहाँहरूलाई जीवनभरि भत्ताको व्यवस्था गरेका छौँ ।’
गत भदौमा इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थीमध्ये हमासको हमलामा १० जनाको निधन भएको थियो । इजरायल सरकारको सहयोगमा मृतक सबैको शव नेपाल ल्याइएको थियो । तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले इजरायल पुगेरै कतिपय नेपालीलाई उद्दार गरेर ल्याएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।