Trending :
 

नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड भन्दा बढी रकम फरार व्यक्ति पक्राउ

चैत्र ०१,२०८०

-आस्था न्यूज

चैत १, २०८० काठमाडौं । 
नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी चार करोड भन्दा बढी कर्जा लिएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
प्रहरीले सप्तरीको कन्चनरुप गा.पा.८ घर भएको ४१ वर्षीय टोकनाथ साहलाई नियन्त्रणमा लिएको हो । नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड १४ लाख ८४ हजार रुपैयाँ कर्जा लिई शाह ऋण नतिरी फरार रहेकोका थिए ।
 
शाहविरुद्ध उच्च अदालत विराटनगरबाट ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ विगो र ३ वर्ष कैदको फैसला भएको थियो । उनै टोकनाथले विभिन्न व्यक्तिहरुलाई अमेरिका पठाउने भनी एक करोड रुपैयाँसमेत ठगेर फरार भएको थिए । रवाफिलो जीवनशैली देखाउँदै उनले युवायुवतीलाई प्रभावमा पार्ने र जो पहिला आयो उसैलाई पठाउने भन्दै ठगी धन्दा चलाउँदै आएका थिए ।
 
आफूलाई दिपक सोनीसमेत भनेर चिनाउने साहलाई फागुन २८ गते बिहान ७ बजे काठमाडौंस्थित बौद्ध हयात होटलबाट प्रहरील्र पक्राउ गरेको थियो । शाहको साथबाट उनले प्रयोग गरेका विभिन्न कम्पनीका १५ थान सिम कार्ड पनि प्रहरीले बरामद गरेको छ । थप कारवाहीको लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।