टी-२० राष्ट्रिय क्रिकेटः मधेश र वागमती विजयी, सेमिफाइनल समीकरण पूरा
-आस्था न्यूज
चैत १, २०८० विराटनगर ।
मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको विहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको ।
पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ ।
विहिबारको खेलअगावै समूह ‘ए’ बाट आर्मी ८ अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
आर्मीसँगै समूह ‘ए’ बाट कर्णाली समूह उपविजेता भएको छ । त्यस्तै, समूह ‘बी’ बाट लुम्बिनीले ४ मध्ये ३ खेल जित्दै ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसैगरी, सुदूरपश्चिमले पनि ४ मध्ये ३ खेल जित्दै ६ अंकका साथ उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रन रेटको आधारमा समूह विजेता ाबनेको हो ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा मधेश प्रदेशले एपिएफलाई २१ ले पराजित गरेको हो । यो खेलमा मधेशले एपिएफलाई ८३ रनले पराजित गरेको भए मधेश सेमिफाइनलमा पुग्ने थियो भने एपिएफले ८ दशमलव ३ बलमा मधेशमाथि जित हात पारेको भए सेमिफाइनलको यात्रा तय गर्ने थियो ।
टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रनको योगफल तयार पारेको थियो । मधेशका लागि प्लेयर अफ द म्याच विशाल सुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरी अविजित ५४ रन बनाउँदा पवन सराफले २५ रन र अविशेक तिवारीले १९ रनको योगदान दिए ।
एपिएफका कप्तान भुवन कार्कीले ३ विकेट लिँदा पुरन विकले पनि ३ विकेट लिए ।
जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको एपिएफ पूरै ओभर खैल्दै ८ विकेटको क्षतिमा १ सय २२ रनमा सीमित भयो । एपिएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरी ५२ रनमा बनाउँदा क्पतान भुवन कार्कीले अविजित १२ रन र आयूुमान बमले पनि १२ रन बनाए । मधेशका राजेश यादवले ३ विके लिँदा अरनिको यादवले २ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसलाई वागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । हारपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले १२ दशमलव ५ बलमा वागमतीलाई पराजित गरेको भए नेट रन रेटमा समूह उपविजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो ।
टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७३ रनको स्कोर बनाएको थियो । वागमतीका लागि प्लेयर अफ द म्याच इसान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरि अविजित ७४ रन बनाउँदा रविन जोशीले २७ रन, शुभ कन्साकरले २६ रनको योगदान दिए । पुलिसका अविशेक कार्की २ विकेट लिँदा दिपक सेरलाले पनि २ विकेट लिए ।
जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सवै विकेट १ सय ४० रनमा सीमित भयो । पुलिसका रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरि ४३ रनको पारी खेले भने शंकर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए । वागमतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इसान पाण्डेले २–२ विकेट लिए ।
विहिबारको पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनल खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।