Trending :
 

लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा

चैत्र ०२,२०८०

-आस्था न्यूज

चैत २, २०८० काठमाडौं ।
इंग्लिस क्लब लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिभरपुलले बिहीबार राति भएको खेलमा चेक रिपब्लिकको स्पार्टा प्रागलाई दोस्रो लेगमा ६–१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा ५–१ को जित निकालेको लिभरपुलले समग्रमा ११–२ को अन्तरको जित निकाल्दै अन्तिम ८ मा स्थान बनाउन सफल भयो ।
 
बिहीबार राति कोडी म्याथेजले २ गोल गर्दा ग्याब्रिएल नुनेज, बोबी कलार्क, मोहमद सलाह र डामोकिन स्जोबोस्जले एक एक गोल गरेका थिए । स्पार्टाका लागि बेल्जेको विरमानसेविकले एक गोल फर्काए ।
युरोपा लिगको अर्को खेलमा मार्सेलीले भिल्लारियलसँग पराजित भएको छ ।
 
बिहीबार रातिको खेलमा भिल्लारियल ३–१ ले विजयी हुँदा समग्रमा पहिलो लेगेको नतिजाका आधारमा मार्सेली ५–३ ले विजयी हुँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो ।
 
यस्तै, रेन्जर्सविरुद्ध १–० को जित निकालेको बेनफिका समग्रमा ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश गरेको छ । 
 
त्यसैगरी वेस्टह्याम युनाइटेडले पनि अन्तिम आठमा स्थान पक्का गरेको छ । बेस्टह्यामले फेरिबर्गलाई ५–० गोल अन्तरले पराजित गर्दा सम्रगमा ५–१ को नतिजा निकाल्न सफल भयो ।
 
दोस्रो लेगमा साल्भिया प्रागविरुद्ध ३–१ को जित निकालेको एसी मिलानले समग्रमा ७–१ को नतिजा आत्मसाथ गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
 
ब्राइटनले रोमालाई १–० ले पराजित गरे पछि ब्राइटन राउन्ड अफ सिक्सटीनमै रोकिन पुग्यो । रोमाले पहिलो लेगमा ४–० को जित निकालेकाले अन्ततः रोमा नै ४–१ को नतिजाका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो ।
 
त्यसैगरी एटलान्टाले स्पोर्टिङलिस्बनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो र दोस्रो लेगको आधारमा एटलान्टा ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो ।
 
यसैगरी लिभरकुसेनले क्वारबार्गसँग २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै ३–२ को जित निकालेको थियो । यो जितसँगै समग्रमा ५–४ को नतिजाका साथ लिभरकुसेन अन्तिम आठमा स्थान पाउन सफल भयो ।