Trending :
 

भर्ना सुरु हुनु अगावै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने जनक शिक्षाको तयारी

चैत्र ०२,२०८०

-आस्था न्यूज

चैत २, २०८० काठमाडौं ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने भएको छ । यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौ वटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ । 
 
केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै ९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सकेको बताए ।
चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सकेर वितरण सुरु गर्ने तयारी छ ।
 
केन्द्रले अहिले २४ सैँ घण्टा छापाखाना सञ्चालन गरेर दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेको छ । आउँदो शैक्षिक सत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान पाठ्यपुस्तक छपाइ सकेको र बाँकी १८ लाख थान पुस्तक १४ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताए ।