बाँदर नियन्त्रणको तालिम लिन नेपाली टोली भारततर्फ
-आस्था न्यूज
चैत २, २०८० काठमाडौं ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागीका लागि भारत जाने टोलीलाई विदाई गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाई गरेको हो ।
बिदाई कार्यक्रममा समिति सभापति डा.आरजु राणा देउवाले, बाँदरलाई मार्नु नै उचित समाधान नरहेकाले तालिम लिएर बाँदर नियन्त्रण गर्न सकिने विश्वासले तालिममा सहभागीका लागि पठाउन लागेको जानकारी दिइन् ।
उनले भनिन्,‘बाँदरलाई यत्तिकै मार्न हुँदैन् । यो हाम्रो बाटो होइन् भन्ने छलफल भएको थियो । नियन्त्रण कसरी गर्ने भन्ने कुराहरु उठिरहँदा हामीले उपाय निकालेका हौं । तालिम लिन सक्यौ भने चाँही हामी नियन्त्रण गर्न सक्छौं । यो कुरा मन्त्रालयसामु पनि कुरा राख्यौं र मन्त्रालयले पनि प्रतिक्रिया दिएपछि आज यो ठाउँमा पुग्यौं ।’
उनले तालिम लिएर आएपश्चात त्यसलाई लागु गर्नका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रह समेत गरिन् ।