Trending :
 

मोरङ, तेह्रथुम र भोजपुरमा आगलागी: ३२ घर जले

चैत्र ०४,२०८०

-आस्था न्यूज

चैत ४, २०८० काठमाडौं ।
मोरङ, तेह्रथुम र भोजपुरमा शनिबर भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका छन् ।
 
मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका-३ शनिबार अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका छन् ।
 
सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
 
आगो निभाउन रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैँचा नगरपालिका लगायत आसपास क्षेत्रका पालिकाहरुको दमकल प्रयोग गरिएको छ । 
 
प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने काम भइरहेकाले क्षतिको विवरण आइसकेको छैन ।
 
आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । बाँस, सन्ठी जस्ता स्थानीय सामग्री प्रयोग गरी बनाइएका घरहरुमा आगो चाँडै फैलिएको जनाइएको छ ।
 
यसैबीच, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा आजै भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ ।
 
प्रहरीका अनुसार जंगलबाट सुरु भएको आगो हावा चलेपछि बस्तीसम्म आइपुगेको थियो । आगोले स्थानीय बासिन्दाका ६ वटा घर जलेका छन् ।
 
यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा भएको आगलागीमा चारवटा घर जलेका छन् । प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन् ।
 
आगोले स्थानीयको घरसहित कपडा, अन्न, केही चौपाया सहित धनमाल जलेको छ । नजिकै रहेको जंगलमा लागेको डढेलो बस्तीमा आइपुगेको प्रहरीले जनाएको छ ।