घरेलु मैदानमा सहज जित निकाल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश

चैत्र ०४,२०८०

-आस्था न्यूज

चैत ४, २०८० काठमाडौं ।
म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । 
 
सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे । सिल्भाले १३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । उनैले रुबेन डियासको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल ३१ औं मिनेटमा थपे । त्यसपछि दुवै टिमबाट गोल नभएपछि सिटी घरेलु मैदानमा २–० को सहज जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।
 
यसैगरी एफए कपकै अर्को क्वाटरफाइनलमा कोभेन्ट्री सिटीले ३–२ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । कोभेन्ट्रीले वुल्भ्सलाई पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए । कोभेन्ट्रीका लागि इलियस सिमसले २ गोल गर्दा हाजी राइटले एक गोल थपेका थिए ।
 
वुल्भ्सका लागि रियान नुरी र ह्युगो बुएनोले एक ÷एक गोल गरे ।
 
खेलको ५३ औं मिनेटमा इलियसले गोल गर्दै कोभेन्ट्री सिटीलाई अग्रता दिलाएका थिए । तर, ८३ औं मिनेटमा रियान र ८८ औं मिनेटमा ह्युगोले गोल गरेपछि वुल्भ्सले २–१ को अग्रता लिएको थियो । दोस्रो हाफको इन्ज्योरी समयको सातौं मिनेटमा इलियसले हेडरमार्फत व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेटपछि हाजीले राइटफुटेड सर्ट प्रहार गर्दै गोल गरेपछि कोभेन्ट्री ३–२ को जितका साथ एफएकपको  सेमिफाइनलमा पुग्न सफल भयो ।
 
एफए कप अन्तर्गत आज चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुल सेमिफाइनल प्रवेशका लागि आमने सामने हुँदै छन् । चेल्सी र लेस्टरको खेल साढे ६ बजे हुने छ भने म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल सवा ९ बजे सुरुहुने छ ।