संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

चैत्र ०७,२०८०

-आस्था न्युज

चैत ७, २०८० काठमाडौं ।
संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ः१५ बजेका लागि बोलाइएको छ । 
 
प्रतिनिधिसभामा आज शून्य समय, विशेष समय र मन्त्रालयगत प्रश्नोत्तर रहने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, आजको बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता र सरकारले प्रस्तुत गरेको विनियोजनका विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुने सम्भावित कार्यसूची छ । 
 
त्यस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने समेत कार्यसूची रहेका छन् । 
 
राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ । 
 
त्यस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने र त्यसबारे उठेका प्रश्नहरूबारे अर्थमन्त्री वर्षमान पुनले सम्बोधन गर्ने समेत सम्भावित कार्यसूची छ । 
 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।