अर्थमन्त्री पुन भन्छन् ‘आगामी बजेट सन्तुलन मिलाएर ल्याइनेछ’

चैत्र ०७,२०८०

-आस्था न्युज

चैत ७, २०८० काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुनले सांसद सदस्यहरुको सुझाव समेतका आधारमा आगामी बजेट तर्जुमा गरिने बताएका छन् । 
 
प्रतिनिधि सभाको बैठकमा बुधबार उनले संसदमा दिएका सुझावहरु बजेटमा समावेश हुने कुरामा शंका उत्पन्न भएको भन्दै सुझाव समेतका आधारमा बजेट तर्जुमा गर्ने बताए । 
 
उनले भने, ‘निवर्तमान अर्थमन्त्रीले सरकारको तर्फबाट पेस गर्नु भएको विनियोजन विधेयक २०८१ सिद्धान्त र प्राथमिकतामा पुनलेखन हुनुपर्ने विषय उठेको छ । सरकारका नीतिहरुमा स्थिरता कायम गर्नुपर्ने, राम्रो नीति कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र परिवर्तित सन्दर्भ अनुसारको आवश्यकता, सम्भावना र सोचलाई सम्बोधन गर्ने सन्तुलन मिलाएर आगामी बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिने छ ।
 
 पुनः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने व्यवस्था नभएकाले सदस्यहरुको सुझाव समेतका आधारमा बजेट तर्जुमा गरिने छ ।’ 
 
आगामी वर्षको बजेट १६ औं योजनाको सोचअनुसार नै प्रमुख कार्यक्रमहरु कार्यान्वयन गर्ने वर्ष हुने उनले बताए ।  
 
उनले भने, ‘पेस भएको सिद्धान्त र प्राथमिकता संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख हुन नसकेको र सामाजिक न्यायको एजेण्डालाई उपेक्षा गरिएको कुरामा आगामी वर्षको बजेट १६ औं योजनाको सोचअनुसारको पहिलो वर्षको प्रमुख कार्यक्रमहरु कार्यान्वयन गर्ने वर्ष हुनेछ ।’ 
 
उनले सुशासन, सामाजिक न्याय र समृद्धिको सोचसहित योजनाका कार्यक्रमहरुको कार्यान्वयनबाट आगामी वर्ष संविधानमा उल्लेख भएअनुसारको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासको लागि ठोस आधार तय हुने पनि बताए ।
 
अर्थतन्त्रलाई चलायमान बनाउन र देखा परेका विभिन्न चुनौतीहरुका साथै मिटरब्याजी पीडित, सहकारी र लघुवित्तको समस्या समाधान गर्न विभिन्न कदम चाल्ने पनि उनको भनाइ छ ।