उम्मेदवार सार्वजनिक गर्न रवि लामिछाने इलाम जाने

चैत्र ०८,२०८०

-आस्था न्युज

चैत ८, २०८० काठमाडौं ।
आउँदो बैशाख १५ गते हुने इलाम २ को उप निर्वाचनको चहलपहल बढ्दै गइरहेको छ । राजनीतिक दलहरुले उम्मेदवारको सिफरिस धमाधम गरिरहेका छन् ।
 
यसै सिलसिलामा चैत १७ गते उम्मेद्वारको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वयम इलाम जाने भएका छन् । 
 
‘सभापतिज्यु इलाम आएर उम्मेद्वारको नाम सार्वजनिक गर्ने र निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ,’ रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘सभापतिज्युले पार्टीका शुभचिन्तक, कार्यकर्ता, व्यवसायी र पत्रकारहरुसँग भेटघाट गर्नुहुन्छ, सभा गर्ने भन्ने तयारी हालसम्म चाहिँ छैन ।’
 
निर्वाचन आयोगले उपनिर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गर्दै चैत १४ देखि चैत २४ गतेसम्म उम्मेद्वारको मनोनयन दर्ताको समय तोकेको छ । रास्वपाले चैत ६ गते देखि चैत १४ गते दिउँसो १ बजेसम्म इलाम २ मा उम्मेदवारको आकांक्षीका लागि आवेदन माग गरेको छ ।