आइपीएलको १७ औँ आजदेखि

चैत्र ०९,२०८०

-आस्था न्युज

चैत ९, २०८० काठमाडौं ।
इन्डियन प्रिमियर लिग आइपीएलको १७ औं सिजन शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिता अघि पौने ७ बजेबाट उद्घाटन समरोह हुने छ भने खेल राति सवा ८ बजेदेखि सुरुहुने छ । उद्घाटन समारोहमा सोनु निगम, एआर रहमान, अक्षय कुमार, टाइगर श्राफले विशेष प्रस्तुती दिने छन् । 
 
उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)सँग प्रतिस्पर्धा गर्नेछ । सीएसके र आरसीबी का आ–आफ्ना टोलीमा अनुभवी खेलाडीहरू छन् । दुवैसँग विदेशी खेलाडीहरूको राम्रो समूह छ । दुवै टोली यस सिजनको सुरुवात जितका साथ गर्न चाहन्छन् ।  
 
आइपीएल इतिहासमा सीएसके र आरसीबी बीच अहिलेसम्म कुल ३१ खेल खेलिएको छ । जसमा डिफेन्डिङ च्याम्पियन सीएसकेले २० खेल जितेको छ भने आरसीबी टोलीले मात्र १० खेल जित्न सकेको छ । दुई टोलीबीचको एउटा खेलको नतिजा भने आएन ।
 
आरसीबीको तुलनामा सीएसके अगाडि रहेको छ । तर, टी–२० क्रिकेटमा एक बलले खेल परिवर्तन हुने भएकाले यो ढाँचामा कुन टोलीले खेल जित्छ भन्न गाह्रो छ ।
 
सन् २०२१ देखि २०२३ सम्म दुई टोलीबीच खेलेका पछिल्लो पाँच खेलमध्ये सीएसकेले चार खेल जितेको छ भने आरसीबीले एक खेल जितेको छ । २०२१ को सिजनमा यी दुई टोलीबीच दुई खेल खेलेका थिए र धोनीको टोलीले दुवै खेलमा जित दर्ता गर्न सफल भयो । 
 
यसपछि २०२२ मा पनि सीएसके र आरसीबी बिच दुई खेल खेलेका थिए जसमध्ये एक खेल सीएसकेले जितेको थियो भने दोस्रो खेलमा आरसीबी विजयी भएको थियो । गत सिजन दुई टोलीबीच एउटा मात्र खेल भएको थियो र यस खेलमा सीएसकेले आरसीबी लाई ८ रनले पराजित गरेको थियो ।
 
सीएसके टोलीले यस सिजनको पहिलो खेल आफ्नो घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा खेल्नेछ । सीएसके लाई उसको घरेलु मैदानमा हराउन कुनै पनि टोलीका लागि सधैं चुनौतीपूर्ण हुन्छ । सीएसकेको विशेषता यो हो कि यसले घरेलु अवस्था हेरेर मात्र टिम छनोट गर्छ जसमा स्पिन बलरलाई प्लेइङ इलेभेनमा राखिन्छ । सीएसकेको तुलनामा, आरसीबी सँग त्यो स्तरका स्पिनरहरू छैनन् ।
 
आरसीबीसँग उत्कृष्ट ब्याट्सम्यान छन्, त्यसैले यो सिजनमा पनि पूर्व कप्तान विराट कोहली फाफ डुप्लेसिससँग ओपनिङमा आउने सम्भावना पनि छ । गत सिजन, उनीहरूको ओपनिङ जोडीले राम्रो प्रदर्शन गरेको थियो ।
 
मिडल अर्डरमा ग्लेन म्याक्सवेल, सुयश प्रभुदेसाई, रजत पाटीदार र दिनेश कार्तिक जस्ता ब्याट्सम्यान छन् । यसबाहेक आरसीबीले मुम्बई इन्डियन्सबाट क्यामरुन ग्रीनलाई पनि ट्रेड गरेको थियो । 
 
चोटग्रस्त डेभोन कोनवे सीएसकेको टोलीमा छैनन्, तर धोनीको टोलीमा न्युजिल्याण्डका युवा ओपनर रचिन रविन्द्र छन् र कोनवेको स्थानमा रचिनले ओपनिङको जिम्मेवारी लिने अपेक्षा गरिएको छ । सीएसकेले श्रीलंकाका मथिशा पाथिराना नखेल्दा उनको ठाउँमा मुस्ताफिजुर रहमानले मौका पाउन सक्छन् ।
 
सीएसके र आरसीबी को सम्भावित प्लेइङ इलेवन यस प्रकार छ ः 
 
चेन्नई सुपर किंग्सः रचिन रविन्द्र, रुतुराज गायकवाड (कप्तान), अजिंक्य रहाणे, शिवम दुबे, रवीन्द्र जडेजा, डेरिल मिचेल, महेन्द्र सिंह धोनी, मिचेल सान्टनर, शार्दुल ठाकुर, दीपक चाहर, मुस्ताफिजुर रहमान ।
 
रोयल च्यालेन्जर्स बैंगलोरः विराट कोहली, फाफ डुप्लेसिस (कप्तान), रजत पाटीदार, ग्लेन म्याक्सवेल, सुयश प्रभुदेसाई, दिनेश कार्तिक, क्यामरन ग्रीन, महिपाल लोमरर, रीस टोपले, मोहम्मद सिराज, करण शर्मा ।