विश्वकप छनोट : जापानको अपराजित यात्रा कायमै

चैत्र ०९,२०८०

-आस्था न्युज

चैत ९, २०८० काठमाडौं ।
फिफा विश्वकप २०२६ तथा एएफसी एशियन च्याम्पियनसिपको छनोटमा जापानले अपराजित यात्रा कायमै राखेको छ । टोकियोमा बिहीबार भएको समूह बीको खेलमा जापानले उत्तर कोरियालाई १–० गोल अन्तरले पराजित गरेको हो । जापानले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । जापानका लागि एओ तानकाले रितुस डोनको पासमा गोल गरेका थिए ।
 
उनको गोलसँगै सुरुमै अग्रता लिएको जापानले खेलभर ६४ प्रतिशत बल नियन्त्रणमा राखे पनि थप गोल भने गर्न सकेन । यही समूहमा रहेका म्यानमार र सिरियाले भने एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छने । 
 
३५ औं मिनेटमा घरेलु टोली म्यानमारले गोल गर्दै अग्रता लिएको थियो । म्यानमारका लागि सोइ मोइ क्यावले माउंग ल्विनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ७१ औं आला डानीले सिरियाका लागि बराबरी गोल गरेका थिए ।
 
तेस्रो चरणको खेलसम्म अपराजित रहेको जापान ९ अंकका साथ शीर्ष स्थानमा रहँदा सिरियाले समान खेलबाट ४ अंक जोड्दै आफूलाई तालिकाको दोस्रो स्थानमा राखेको छ । यसैगरी उत्तर कोरिया तीन अंकका साथ तेस्रो स्थानमा छ भने म्यानमार एक अंकका साथ पुछारमा रहेको छ ।