उपत्यकामा दुई सय बढी सवारी चालक कारवाहीमा
-आस्था न्यूज
चैत ११, २०८० काठमाडौं ।
होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।
काठमाडौं उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म दुई सय ४१ सवारी साधनलाई होल्ड गर्दै चालकलाई कारबाही गरिएको छ ।
काठमाडौं उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी जीवन कुमार श्रेष्ठले बताए ।
दुई पांग्रे २३३ र आठ वटा चार पांग्रे सवारीसाधन चालक कारबाहीमा परेका हुन् । एसएसपी श्रेष्ठका अनुसार लाइसेन्स नबोक्ने, मापसे गरेर सवारी चलाउनेलगायत कारबाहीमा परेका हुन् ।
काठमाडौंमा बसन्तपुर, दरबारमार्ग, सामाखुसी, ठमेललगायत विभिन्न ठाउँमा होलीका कार्यक्रमहरू आयोजना गरिएका छन् । यद्यपि बिहान पातलिएका सडकमा सवारी बढ्न थालेको श्रेष्ठले बताए ।
होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । आइतबार विभिन्न ९० स्थानमा प्रहरी खटिएर नियमित सवारी चेकजाँच तथा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ ।
होलीमा अवाञ्छित गतिविधि नगर्न र जथाभावी रङ नछ्याप्न प्रहरीको आग्रह छ । सभ्य तरिकाले होली खेल्न प्रहरीले आव्हान गरेको छ । तराईमा भने पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलिपल्ट मात्रै होली मनाउने चलन छ ।