केन्याका स्टार अलराउन्डर ओबुयाले लिए सन्यास

चैत्र ११,२०८०

-आस्था न्यूज

चैत ११, २०८० काठमाडौं ।
आईसीसी पुरुष क्रिकेट विश्वकप २००३ मा केन्याका लागि महत्वपूर्ण भूमिका खेलेका अलराउन्डर कोलिन्स ओबुयाले सक्रिय खेल जीवनबाट सन्यास लिएका छन् ।
 
उनले आफ्नो २३ वर्षको क्रिकेट करिअरलाई पूर्णविराम दिएको घोषणा गरेका हुन् ।
 
सन् २००१ मा वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ओबुयाले अफ्रिकी खेलकुदको तेस्रो स्थानको प्लेअफमा युगान्डासँग १०६ रनले पराजित भएपछि सन्यास लिएका थिए ।
 
४२ वर्षीय ओबुयाले केन्याले खेलेको पाँच इनिङ्समा १८४ रन बनाएर प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । ‘मैले खेलबाट सन्यास लिने निर्णय गरेको छु । केन्याका लागि खेल्न पाउनु ठूलो सम्मान हो,’ ओबुयालाई उद्धृत गर्दै आईसीसीले जनाएको छ, ‘म मेरा सबै साथीहरू र मेरो परिवारलाई धन्यवाद दिन चाहन्छु जो सधैं मेरा लागि त्यहाँ छन् । यो मेरो लागि उत्कृष्ट करिअर हो, यो धेरै लामो समयसम्म खेल्न पाउनु धेरै विशेष छ । म आफ्नो करिअरमा धेरै गर्व गर्छु, तर अब मेरो लागि कोचिङमा ध्यान केन्द्रित गर्ने र क्रिकेटको लागि जे पनि गर्न सक्छु र गर्ने समय आएको छ ।’ 
 
उनले एक दिवसीय करिअरमा २०४४ रन बनाएका छन् । केन्याको ओडीआइ स्टाटस खोसिनुअघि २००० हजारभन्दा बढी रन बनाउने चारमध्ये एक हुन् ।  उनले टी २० मा १७९४ रन बनाएका छन् । केन्याका लागि सर्वाधिक रन बनाउने उनै खेलाडी हुन् । यसैगरी उनको नाउँमा ६० अन्तर्राष्ट्रिय विकेट समेत रहेको छ । लेग स्पिनिङ अलराउन्डरको उत्कृष्ट ओडीआइ इनिङ्स सन् २०११ को विश्वकपमा अस्ट्रेलियाविरुद्धको अविजित ९८ रनको थियो, जुन दुर्भाग्यवश हारमा समाप्त भयो ।
 
केन्याको २०११ को विश्वकप अभियानपछि ओबुयालाई जिमी कोमान्डेको ठाउँमा टोलीको कप्तान नियुक्त गरिएको थियो । टोलीले आईसीसी पुरुष टी-२० विश्वकप २०१४ मा छनोट हुन नसकेपछि उनले २०१३ मा राजीनामा दिएका थिए । सन् २००३ को विश्वकप क्रिकेटमा केन्याले बलियो श्रीलंकालाई पराजित गर्दै सनसनी मच्चाएको थियो । त्यतिबेला उनले २४ रन खर्चिएर महत्वपूर्ण विकेट लिएका थिए । उनको बलमा अरबिन्द डी सिल्भा, कुमार सांगकारा र महेला जयबर्धने जस्ता स्टार खेलाडीको विकेट लिएका थिए । सोही जितका कारण केन्याले सुपर सिक्स र सेमिफाइनलसम्म पुग्न भूमिका खेल्यो । विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने केन्या एक मात्र गैर टेस्ट नेसन्स बनेको थियो ।
 
केन्याले सन् १९९६ मा पाएको एक दिवसीय मान्यता सन् २०१४ मा गुमाएको थियो । त्यसपछि एसोसिएट राष्ट्रको रुपमा केन्याले लगातार क्रिकेट खेल्दै आएको छ ।