Trending :
 

सूर्य नेपाल गल्फ टुर च्याम्पियनसीप भोलीदेखी

चैत्र ११,२०८०

-आस्था न्यूज

चैत ११, २०८० काठमाडौं ।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ । 
 
७२ होलको प्रतियोगिता आगामी बिहीबारसम्म चल्नेछ । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गल्फरले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन् ।
 
विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने गल्फरले क्रमशः ९० हजार र ६७ हजार नगद हात पार्नेछन् ।
 
३६ होलको समाप्तिमा कट लागु हुनेछ, जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम छ । कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । 
 
३३ प्रोफेसनल गल्फरमध्ये भुवन नगरकोटी, रवि खड्का, दिनेश प्रजापति, धन थापा र सञ्जय लामाबीच उपाधिको लागि कडा प्रतिस्पर्धा हुने सम्भावना छ । प्रो गल्फरहरूलाई यो पटक पनि टप एमेच्योर सदभाव आचार्यले कडा चुनौती दिनेछन् । यस्तै राहुल विश्वकर्मा र टासी छिरिङले पनि प्रो गल्फरलाई चुनौती दिने सम्भावना छ । 
 
नेपाल नम्बर एक प्रो शुक्रबहादुर राईले भने चोटको कारण यो प्रतियोगिता गुमाएका छन् । नाडीमा लागेको चोटले गर्दा उनले यो प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । अर्का प्रो सुवास तामाङले कोलकाता च्यालेन्जमा कट बनाउन नसकेपछि उनी तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणका लागि फर्किएका छन् । 
 
एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले सूर्य नेपाल टुरमा गल्फको स्तर बढ्दै गएको बताएका छन् । यो सिजन प्रो र एमेच्योर खेलाडीहरूको प्रदर्शन उत्साहजनक रहेको उनको भनाइ छ ।